
काठमाडौँ महानगरपालिकाको आर्थिक र प्राविधिक सहयोगमा लायकू साः त्वाः छेँको निर्माण कार्य शुरू भएको छ ।
वडा २३ को झोछेँमा मंगलबार महानगरका मेयर विद्यासुन्दर शाक्यले, शिलान्यास गर्दै निर्माण कार्य शुभारम्भ गरेका हुन् । यसको निर्माणका लागि लायकू साः मानन्धर समाजले उपभोक्ता समितिको काम गर्नेछ ।
शिलान्यासपछि बोल्दै मेयर शाक्यले, सार्वजनिक महत्वको काम थाल्न कहिल्यै ढिला नहुने बताए । ‘यस अघि किन भएन भन्नुभन्दा, हामीले काम थाल्यौँ । समयमा सम्पन्न गरौँ भन्ने सोच राख्नुपर्छ । विगतमा किन भएन भनेर अल्झिनु हुँदैन,’ शाक्यले भने, ‘महानगरले सम्पदा पुननिर्माणका लागि लिएको नीतिबाट क्रमशः परिणामहरू आइरहेका छन् ।’
त्यस क्रममा बोल्दै वडाध्यक्ष मचाराजा महर्जनले, वडाभित्र माग भएका सबै सम्पदाको पुननिर्माण भएको जानकारी दिए । ‘भित्री सहरी क्षेत्रको पहिचान भनेकै सांस्कृतिक सम्पदा, स्थानीय, भाषा, कला, साहित्य र सिर्जना हुन् । सहरी सेवा सुविधा वितरण र पूर्वाधार निर्माणसँगै हामीले पहिचान जोगाउने कामलाई प्राथमिकता दिएका छौँ,’ वडाध्यक्ष महर्जनको भनाइ थियो ।
इञ्जिनियर गौरव श्रेष्ठकाअनुसार त्वाः छेँ निर्माणको लागत भ्याट र ओभरहेटबाहेक करिब २० लाख ७५ हजार हो । यो साढे ३ तलाको हुनेछ । यसको क्षेत्रफल २१० बर्गफिट हुनेछ ।