
वातावरण तथा जलवायू अनुकूल विकासमा नेपाली युवा यूथ इन्नोभेसन ल्याबको नेतृत्वमा मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा वातावरण तथा जलवायू अनुकूल विकासमा नेपाली युवा परियोजना सञ्चालन हुन गइरहेको छ ।
युरोपेली संघको आर्थिक सहयोगमा सञ्चालन हुने परियोजना जनवरी २०२२ देखि डिसेम्बर २०२५ सम्म रेस्टलेस डेभलेपमेन्ट नेपाल, सीआरईएएसआईओएन/सीडीएमको साझेदारीमा सञ्चालन हुनेछ । परियोजनामा वातावरण संरक्षण र जलवायू परिवर्तनका क्षेत्रमा तीनै प्रदेशमा युवाहरू परिचालन गरिनेछन् ।
कोभिड–१९ महामारीपश्चात युवाहरूको रोजगारीका अवसरमा असर परेको समयमा परियोजनाद्वारा तीनै प्रदेशलाई प्राथमिकता दिई रोजगारीको अवसरहरू सिर्जना गरिने परियोजना प्रमुख गोमा कार्कीले प्रेषित गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘परियोजनाले युवाहरूमार्फत स्थानीय तहको जलवायू परिवर्तन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी तथ्यमा आधारित नीति, योजना तथा कार्यक्रम निर्माण गर्न क्षमता विकास गर्नेछ । साथै जलवायू–मैत्री उद्यमशील कार्यक्रममार्फत युवाहरूलाई संलग्न गरी रोजगारीहरू प्रदान गर्न, जीविकोपार्जनको स्तरोन्नति गर्न र उद्यम, जलवायू परिवर्तन र सुशासनका क्षेत्रमा युवाहरूलाई सोही क्षेत्रका विज्ञहरूसँग सहभागी गर्ने लक्ष्य रहेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
जलवायू परिवर्तन सम्बन्धी विषयहरू उठाउने, कम लागत प्रविधिको प्रयोग गर्न प्रोत्साहन गर्ने, तथ्यांकमा आधारित अभियन्ताहरूको समूह विकास गर्ने उद्देश्य पनि परियोजनाले लिएको छ ।
यूथ इन्नोभेसन ल्याबले परियोजनाको समग्र नेतृत्व गर्नुका साथै ‘क्लाइमेट फेलोशीप’ कार्यक्रमको नेतृत्व गर्नेछ । सीआरईएएसआईओएनले जलवायू–मैत्री उद्यमशीलताको कार्यान्वयनको नेतृत्व गर्नेछ भने रेस्टलेस डेभलपमेन्ट नेपालले तथ्यांकमा आधारित अभियानको कार्यान्वयनको नेतृत्व गर्ने जनाइएको छ ।
‘सीडीएमएसले लैंगिक समानता र सामाजिक समावेशीकरणका लागि दिशानिर्देशहरू विकास गरी सम्पूर्ण कार्यक्रममा समावेश गर्न सुनिश्चित गर्नेछ । साथै यूथ इन्नोभेसन ल्याब र रेस्टलेसले यूथ साउन्डिङ बोर्ड गठन गरी यसअन्तर्गतका कार्यहरूमा नेतृत्व गर्नेछन्,’ विज्ञप्तिमा उल्लेख छ, ‘बोर्डले विभिन्न क्षेत्रका युवालाई सशक्तीकरण गर्न, जलवायू र वातावरणीय समस्याहरूलाई सम्बोधन गर्नका लागि नवीन विचारहरू सिर्जना गर्न र वातावरणीय संरक्षणलाई प्रोत्साहन गर्न नीति परिवर्तनको वकालत गर्दछ ।’
परियोजनाअन्तर्गत हुन गइरहेको ४ वर्षे कार्यक्रमको शुरूआत शुक्रवार सञ्चालित ‘किक अफ’ बैठकमा गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, युरोपेली संघ, राष्ट्रिय युवा परिषद्, यूथ इन्नोभेसन ल्याब, रेस्टलेस डेभलेपमेन्ट नेपाल, सीआरईएएसआईओएन/सीडीएमको सहभागितामा औपचारिक रूपमा शुरूआत गरिएको छ ।
कार्यक्रममा यूथ इन्नोभेसन ल्याबबाट परियोजना प्रमुख गोमा कार्कीले परियोजनाको उद्देश्य र परियोजनाभित्र रहेका विभिन्न कार्यक्रमबारे जानकारी दिइन् । कार्यक्रमको दोस्रो चरणमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, राष्ट्रिय युवा परिषद् र युरोपेली संघको प्रतिनिधित्वमा ‘सुशासन तथा उद्यमशीलतामा युवाको सहभागिता’ विषयक प्यानल छलफल, यूथ इन्नोभेसन ल्याबका कार्यकारी निर्देशक प्रदिप खतिवडाको मध्यस्थतामा गरिएको थियो । छलफलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई प्रतिनिधित्व गर्दै उपसचिव ऋषिराज आचार्यले मन्त्रालय र स्थानीय सरकारको सम्बन्ध अझै प्रगाढ बनाई विपद् व्यवस्थापनमा दीर्घकालीन योजना निर्माण गर्नुपर्ने बताए ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जलवायू परिवर्तनले आर्थिक अवस्था, जीविकोपार्जन र विपद्को क्षेत्रमा असर गर्ने हुँदा जलवायू परिवर्तन र विपद्लाई सँगसँगै लैजानुपर्ने र युवाको भूमिका महत्त्वपूर्ण हुने टिप्पणी गरे ।
राष्ट्रिय युवा परिषद्का प्रतिनिधि उपसचिव कमला ज्ञवालीले युवाहरू नविन विचारको खानी हुने हुनाले यस्ता विचार र स्रोतको सदुपयोगले देशलाई लाभकारी हुने जनाउँदै युवालाई देशमै काम गर्न प्रेरित गर्नुपर्ने विचार व्यक्त गरिन् । युरोपेली संघको प्रतिनिधित्व गर्दै कार्यक्रम व्यवस्थापक रोजाल्बा टुसियोले मधेश प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशको संकटासन्नता र जोखिमका मापदण्डका आधारमा छानिएको कुरा प्रस्ट पारे ।

युरोपेली संघले युवाको नीति, सहभागिता र सशक्तीकरणमा प्राथमिकता दिने हुनाले परियोजनाले युवा र नेपाल सरकारको समन्वयमा नीति निर्माण गर्न मद्दत गर्ने अपेक्षा व्यक्त गरे ।
युरोपेली संघका हेड अफ कोअर्डिनेसन मार्को जेम्मरले आफ्नो मन्तव्यमा युरोपेली संघको पात्रोमा २०२२ युवाहरूको वर्ष भनि तोकिएको कुरा जानकारी गराउँदै यस वर्ष युवा लक्षित कार्यक्रमहरू अगाडि बढाउने जानकारी प्रदान गरे । परियोजनामा समेत युवालाई लक्षित गरी कार्यक्रमहरू तय गरिएको र प्राथमिकताका आधारमा परियोजनाका कुनै पक्षमा परिवर्तन गर्दा झनै प्रभावकारी हुने परियोजनामा परिवर्तन गर्न पनि लचिलो रहेको जानकारी गराए ।
कार्यक्रमको तेस्रो चरणमा ‘वातावरण तथा जलवायू अनुकूल विकासमा युवाको संलग्नता’का विषयमा प्यानल छलफल गरिएको थियो । छलफलमा रेस्टलेसबाट हब निर्देशक काँजल प्रधान, सीआरईएएसआईओएनबाट संस्थापक तथा अध्यक्ष आनन्द मिश्र, सीडीएमएसबाट कार्यकारी निर्देशक शक्ति गुरुङ र यूथ इन्नोभेसन ल्याबबाट परियोजना प्रमुख गोमा कार्कीको सहभागिता थियो ।
छलफलमा चारै वटा साझेदारले परियोजनाको सफलताका लागि निरन्तर कार्य गरिरहने जनाउँदै परियोजनाको औपचारिक रूपमा शुरूआत भएको जानकारी गराइएको छ ।