
नेपाली सेनाले सैनिक नेतृत्व र सेनाका गतिविधिबारे भ्रम छरिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै सेनाले फरक प्रसंग र अवसरको फोटो तथा भिडियो क्लिप प्रयोग गरी विभिन्न संवेदनशील विषयहरू नेपाली सेनासँग जोडी भ्रम छरिएको जनाएको छ ।
विज्ञप्तिमा उल्लेख छ, ‘विगत केही समययता सैनिक मूल नेतृत्व एवं नेपाली सेनाका गतिविधिसँग सम्बन्धित फरक प्रसंग र अवसरको फोटो तथा भिजुअल क्लिप प्रयोग गरी विभिन्न संवेदनशील विषयहरू नेपाली सेनासँग जोडी आफ्नो निहित स्वार्थ र नियत पूरा गर्न आम जनमानसमा भ्रम छर्ने उद्धेश्यले विभिन्न संचारमाध्यमहरु विशेष गरी अनलाईन मिडिया तथा सामाजिक सञ्जाल (फेसबूक, टिकटक आदि) मा नक्कली परिचय बनाई भ्रामक एवं कपोकल्पित समाचार एवं सन्देश सम्प्रेषण भइरहेकोप्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएको छ ।’
सेनाको प्रतिष्ठा र नेतृत्वको निष्ठा एवं मर्यादामा समेत गम्भीर आघात पुर्याउने किसिमका अनर्गल प्रचारप्रसारहरूप्रति सेनाले खेद प्रकट गरेको छ ।
‘नेपाली सेना जस्तो देश र जनतालाई केन्द्रविन्दुमा राखी संविधान ऐन कानूनको परिधिभित्र बसी कानून एवं विधिसम्मत चल्ने अराजनैतिक छवि भएको संस्थाको प्रतिष्ठा र नेतृत्वको निष्ठा एवं मर्यादामा समेत गम्भीर आघात पुर्याउने यस किसिमका अनर्गल प्रचार प्रसारहरु प्रति नेपाली सेना खेद प्रकट गर्दछ । यस्ता भ्रमहरुबाट टाढा रहन र अरुलाई पनि टाढा राख्न लगाउनु हुन आम जनसमुदायमा नेपाली सेना हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।