१६ असार २०८३, मंगलबार

राष्ट्रिय सभामा अनुभव नबाँडी बिदा भए २० सांसद

फागुन २१, २०७८
राष्ट्रिय सभामा अनुभव नबाँडी बिदा भए २० सांसद
फाइल फोटो

राष्ट्रिय सभामा ४ वर्षे कार्यकाल पूरा गरेका २० सांसद शुक्रवारबाट बिदा भएका छन् । आफ्नो ४ वर्षको अनुभव बाँड्न नपाई उनीहरू बिदा भएका हुन् ।

२०७६ फागुनमा २ वर्षे कार्यकाल पूरा गरी बाहिरिने सांसदले राष्ट्रिय सभाको रोस्ट्रमबाट अनुभव बाँडेका थिए । गत ६ महिनादेखि प्रतिनिधि सभाको विषयलाई लिएर प्रमुख प्रतिपक्ष एमालेले राष्ट्रिय सभा अवरोध गर्दै आएकाले ४ वर्षपछि बिदा हुन लागेका उपाध्यक्ष शशिकला दाहालसहित २० सांसदले अनुभव बाँड्न पाएनन् ।

शुक्रवारबाट बाहिरिनेमा राष्ट्रिय सभाका संसदीय समितिका ३ सभापति पनि छन् । दीगो विकास तथा सुशासन समिति सभापति तारादेवी भट्ट, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण विडारी र विधायन व्यवस्थापन समिति सभापति परशुराम मेघी गुरुङ बाहिरिएका हुन् ।

कांग्रेसबाट राष्ट्रिय सभाको संसदीय दलका नेता सांसद राधेश्याम अधिकारी, राष्ट्रिय सभामा माओवादी केन्द्र संसदीय दलका नेता दिनानाथ शर्मा, राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष एमाले संसदीय दलका नेता सुमनराज प्याकुरेल पनि बिदा भए । राष्ट्रिय सभामा कार्यकाल सकिनेमा एमालेका सबैभन्दा बढी सांसद छन् । जसमा अगमप्रसाद बान्तवा राई, कविता बोगटी, कोमल वली, चक्र स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ, रामलखन चमार सुमनराज प्याकुरेल गरी ४ जना छन् । एकीकृत समाजवादीका ४ सांसदको कार्यकाल सकियो । समाजवादीका उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्तिकुमारी अधिकारी जिसी र शेरबहादुर कुँवर छन् । माओवादीबाट राष्ट्रिय सभा सदस्य बनेका खिमकुमार विक, जीवन बुढा, दिनानाथ शर्मा र शशिकला दाहालको कार्यकाल सकियो ।

सरकारको नेतृत्व गरिरहेको कांग्रेसका ३ जना राष्ट्रियसभा सदस्यको कार्यकाल पनि सकिएको छ । त्यसमा राधेश्याम अधिकारी, दृगनारायण पाण्डेय र तारादेवी भट्ट रहेका छन् । राष्ट्रपतिबाट मनोनीत रामनारायण विडारीको पनि कार्यकाल सकियो ।

राष्ट्रिय सभाबाट बिदाइ हुन लागेका सांसदहरूले २०७४ सालमा राष्ट्रिय सभामा प्रवेश गर्दा जस्तो बिदाइ हुन पाएनन् । अपेक्षित रूपमा राष्ट्रिय सभाको कार्यकालको शुरूआत राम्रो भए पनि बिदाइका क्रममा भने मुलुकको राजनीतिक वातावरण खल्लो भएसँगै सभा नै निष्क्रियजस्तो भएको उनीहरूले बताए ।

शुरूका २ वर्ष राष्ट्रिय सभालाई व्यवस्थित गर्न बितेको र पछिल्ला दुई वर्ष भने राजनीतिक विवाद र कोरोना भाइरसको संक्रमणको चपेटामा परेको सांसदहरूले बताए । ‘पहिलो २ वर्ष उत्साहित थिए । धेरै काम गर्न सकिन्छ भन्ने उमंगताका साथ राष्ट्रिय सभामा प्रवेश गरेका थियौं । राष्ट्रिय सभालाई नयाँ संविधानअनुसार व्यवस्थित गर्ने काम भयो । समितिको व्यवस्थापन गर्ने, सञ्चालन विधि र प्रक्रियाको सुनिश्चिता भयो । सबै कुरालाई ट्र्याकमा ल्याएर राम्रो काम गरिएको थियो,’ माओवादी सांसद दीनानाथ शर्माले भने, ‘पछिल्लो २ वर्ष निराशाजनक रहे । कोभिडका कारण देश लकडाउन भयो र संघीय संसद् चल्न सकेन । त्यसपछि राष्ट्रिय राजनीतिमा अन्योलता आयो । हाल प्रतिनिधि सभाको समस्या पनि राष्ट्रिय सभामा लगेर प्रतिपक्षी एमालेका सांसदले समस्या निर्माण गरे ।’

राष्ट्रिय सभालाई शुरूदेखि नै प्रतिनिधि सभाको छायाँ भएको भन्दै प्रश्न उठ्न लागेका थिए । विज्ञहरूको सभा भनिए पनि राष्ट्रिय सभा सदस्यमा पार्टीका कार्यकर्ता बाहिरका व्यक्तिहरूले प्रवेश नपाएकाले त्यो प्रश्न उठ्ने गरेको थियो । प्रतिनिधिसभाको विषयलाई लिएर राष्ट्रिय सभामा जारी अवरोधले ती प्रश्नलाई बल पुगेको र आगामी दिनका लागि सोच्नुपर्ने विषय बनेको कांग्रेसका राधेश्याम अधिकारीको भनाइ छ ।

‘अहिले संसद्को जुन हालत छ यस किसिमको हालत बढ्दै गयो भने फेरि समग्रतामा सोच्नुपर्छ । संसदीय व्यवस्था भनेको यै हो त भन्ने प्रश्न उठ्छ । ६ महिनासम्म अवरोध गर्ने भन्ने हुन्छ ? जनताको भाषा बोल्ने समस्याको समाधान गर्ने थलो भनेर बनायौं । राष्ट्रियसभा झन् परिपक्व सभा हो भनियो र जुन ढंगले काम गर्नुपर्ने हो त्यो हुन पाएन,’ उनले भने, ‘संसद् बन्द गरेर कसैको भलो हुँदैन ।’

एकीकृत समाजवादीकी सांसद उदया शर्मा पौडेलले भने प्रतिनिधिसभाको विवादले राष्ट्रिय सभालाई प्रभावित पारेको र त्यसप्रति नेतृत्वको साथ रहेको बताइन् । ‘नेतृत्वले निष्क्रियता र उदासीनता देखाउनुभएको छ । हामीले पनि देखाएका छौं । प्रतिनधिसभामा देखिएको विवादले राष्ट्रिय सभालाई छुनै नहुने हो,’ उनले भनिन् ।

माओवादी सांसद शर्माले राष्ट्रिय सभा खोल्नभन्दा पनि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले साथ दिएको बताए । ‘अध्यक्षले पनि पार्टीको लाइनसित सहभागी भएर राष्ट्रिय सभालाई समस्यामा पार्ने काम गर्नुभयो,’ उनले भने, ‘सभालाई अध्यक्षले गरिमामय रूपमा अगाडि बढाउन र प्रतिनिधिसभाका समस्या दलले राष्ट्रिय सभामा ल्याएका विषय समाधान गर्न खोज्नुभएन ।’

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले शुक्रवार साँझ ५ बजे सबै सांसदहरूलाई एक होटलमा कार्यक्रम गरी बिदाइ गरियो । राष्ट्रियसभा गत वर्षको पुस ५ गतेयता १ दिन पनि बस्न सकेको छैन । चालू अधिवेशनमा राष्ट्रियसभा मंसिर २८ र पुस ५ गरी २ दिन मात्रै चलेको छ ।

राष्ट्रियसभा अध्यक्षको निर्देशनमा संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले यसबीचमा पटकपटक सभाको बैठक आह्वान गर्दै सूचना जारी गरेरै सार्दै आएका थिए । अन्तिमपटक माघ १६ गते अनिश्चितकाल संसद् बैठक स्थगित भएको सूचना जारी गरियो ।

राष्ट्रिय सभाको औचित्यमाथि प्रश्न उठिरहेका बेला र त्यसलाई बल पुग्नेगरी सभामा गतिविधि हुँदा त्यसबाट शिक्षा लिनुपर्ने ४ वर्षे कार्यकाल पूरा गरेर निस्किन लागेका सांसदले बताए । आफ्नो पहिचान कायम गर्न सभामा रहेका दल र सांसद तथा नेतृत्वले भूमिका खेल्नुपर्ने उनीहरूको भनाइ छ । 

एमाले सांसद परशुराम मेघी गुरुङले आगामी दिनमा राष्ट्रिय सभाले आफ्नो पहिचान कायम राख्नुपर्ने बताए । ‘प्रतिनिधि सभाबाट प्रभावित हुनुभएन । राष्ट्रिय सभाले आफ्ना क्रियाकलाप नियमित सञ्चालन गर्नुपर्छ । विधायिकी अभ्यासमा परिपक्वता देखाउन सक्नुपर्छ,’ उनले भने, ‘राष्ट्रिय सभा । राष्ट्रिय सभाको पहिचान कायम राख्न नियमकानुनको अभाव छैन । हाम्रो नियमावली कार्यान्वयन भइरहेको छैन त्यसलाई पालना गरेर अगाडि बढ्नुपर्छ ।’

यसैबीच, राष्ट्रिय सभामा निर्वाचित भएर आएका १९ सांसदहरूको शपथग्रहण कार्यक्रम शनिवार ११ बजे तय गरिएको छ । संघीय संसद् सचिवालयमा शपथ कार्यक्रम राखिएको छ । शपथग्रहणसँगै नयाँ निर्वाचित भएर आएका सांसदहरूका लागि ‘संसदीय प्रक्रिया र पद्धतिबारे जानकारी दिने र परिचयात्मक कार्यक्रम’ राखिएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

माघ १२ गते भएको राष्ट्रिय सभाका १९ सिटमा कांग्रेसबाट गोपालकुमार बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा गुरुङ र नारायणदत्त मिश्र निर्वाचित भएका थिए ।

एकीकृत समाजवादीबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदयबहादुर बोहोरा र मदनकुमारी शाह (गरिमा) निर्वाचित भएका छन् भने माओवादी केन्द्रबाट उर्मिला अर्याल, भुवनबहादुर सुनार, सुरेश आलेमगर, नरबहादुर विष्ट र जगतबहादुर पार्की छन् । एमालेबाट सोनाम गेल्जेन शेर्पा, जनता समाजवादी पार्टीबाट मोहम्मद खालिद र राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्मा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । राजधानीमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्