२७ जेठ २०८३, बुधबार
राजनीतिक संघर्ष

संघर्षले सफलता चुमेकी उपाध्यक्ष विमला : १६० सीसीको मोटरसाइकलमा हुइँकिँदै जनताको सेवा

फागुन २१, २०७८
संघर्षले सफलता चुमेकी उपाध्यक्ष विमला : १६० सीसीको मोटरसाइकलमा हुइँकिँदै जनताको सेवा

हरेक सफलताका पछाडि लामो संघर्ष जोडिएको हुन्छ । निरन्तरको संघर्षले सफलताको बाटो तय गर्छ ।

गुल्मीको ईस्मा गाउँपालिकाकी उपाध्यक्ष विमला खत्रीले जीवनमा गरेका संघर्ष र प्राप्त गरेका सफलता प्रेरणादायी छन् । १६० सीसीको मोटरसाइकल कुदाउँदै गाउँका सबै काममा सक्रिय हुने नाम हो विमला ।

ईस्मा–१ हस्तीचौरकी ४२ वर्षीया विमलाको संघर्ष र सक्रियतालाई साँच्चै सबैले अनुशरण गर्न थालेका छन् ।

उपाध्यक्ष निर्वाचित भएपछि पदीय हिसाबले गाउँगाउँ पुग्नुपर्ने भयो । गाउँपालिकामा अध्यक्ष लक्ष्मण विष्टको मात्र गाडी छ । मितव्ययिता अपनाउने भनेर गाडी किन्नेभन्दा गाउँपालिकाको मोटरसाइकल चलाउने अठोट विमलाले लिइन् ।

१ हप्ता सिकेपछि मोटरसाइकल चलाउन सक्ने भइन् । ‘ठूलो मोटरसाइकल भएकाले दुर्घटनामा पनि पटक–पटक परें,’ विमला भन्छिन्, ‘जति पटक बाइकबाट लड्थें, त्यति उठेर चलाउने साहस आउँथ्यो ।’

उनी लु१ब २१५९ नम्बरको मोटरसाइकलबाटै महत्त्वपूर्ण बैठक, सभा र गाउँमा विवाद मिलाउन ठाउँठाउँमा पुग्छिन् । गाउँको जोखिमयुक्त कच्ची बाटो छिचोल्न उनी मोटरसाइकलमै यात्रा गर्छिन् । विमला काम पर्दा मोटरसाइकल चलाएरै बुटवलसम्मै आउँछिन् । उनको बाइकका पछाडि कहिले नगर प्रहरी, कहिले प्राविधिक त कहिले जनप्रतिनिधि र कर्मचारी भएकै हुन्छन् । 

अहिले समाजमा विमलाको व्यापक खोजी हुन्छ । ‘निरन्तरको संघर्षले राजनीतिसँगै समाज सुधारको काममा सफलता दिलायो,’ उनले भनिन् ।

कोरोना महामारी व्यवस्थापनमा समेत उनले सफल नेतृत्व गरिन् । कोरोनाको संक्रमण हुने डरले धेरैजसो जनप्रतिनिधिहरू घरमै बस्थे तर उनी हरेक क्वारेन्टीन र आइसोलेसन सेन्टरमा पुग्ने गरिन् ।

‘त्यतिबेला राहत दिन घरघरदेखि हरेक क्वारेन्टीन र आइसोलेसनमा पुगें,’ विमला भन्छिन्, ‘संक्रमितहरूलाई साहस दिने गर्‍यौं । महिलाका लागि छुट्टै क्वारेन्टीनको व्यवस्था भयो । जसका कारण महिला सुरक्षित र ढुक्कसँग बस्न पाए ।’ 

कोभिड नियन्त्रण र व्यवस्थापनमा उनका तीतामीठा अनुभव पनि छन् । विमला आफैंलाई हिंसापीडित महिलाका रूपमा स्वीकार गर्छिन् । त्यहीँ पीडाबाट केसीले लिएको अठोटले गाउँपालिमा मदिरा नियन्त्रण भएको छ । 

विमलाको विक्रम संवत् २०५२ सालमा १७ वर्षकै कलिलो उमेरमा विवाह भयो । त्यो बेला गाउँमा मदिरा उत्पादन, बिक्रीवितरण र सेवन अत्यधिक थियो । विमलाले परिवार र समुदायमा मदिराले निम्त्याएको हिंसाका कारण न्याय र संघर्षको बाटो खोजेकी थिइन् । 

खत्रीले २०५१ सालमा बाँझकटेरी माविबाट एसएलसी परीक्षा दिइन् तर गणितमा उत्तीर्ण हुन सकिनन् । त्यतिबेला घरमा सासूको निधन भएकाले पूरक परीक्षा दिन भ्याइनन् उनले । पढाइ बीचमै रोकिन पुग्यो । विक्रम संवत् २०५३ सालमा उनकी जेठी छोरी जन्मिइन् । 

२०५६ सालमा फेरि दोस्रो सन्तानको रूपमा छोरा जन्मियो । एसएलसी पास गर्नुपर्छ भन्ने उनको मनमा जाग्यो । त्यतिबेला माघ महिनामा एसएलसी परीक्षा हुन्थ्यो । ३ महिनाको बच्चा बोकेर उनले एसएलसी दिइन् र उत्तीर्ण भइन् । 

‘छोरा बोकेरै परीक्षा दिएँ, मनमा पढाइ प्रतिको ऊर्जा थियो,’ उनले भनिन्, ‘फलस्वरूप परीक्षामा उत्तीर्ण भएँ, खानेमुखलाई जुँगाले नछेक्ने रहेछ ।’

विमलाले २०६० सालमा जनज्योति निमावि हस्तीचौरमा मासिक ५०० रुपैयाँ पाउने गरी पढाउन थालिन् । त्यहाँ २ वर्ष पढाइन् । 

त्यसपछि २०६२ सालमा प्रावि तहको राहात दरबन्दीमा नियुक्त भइन् । तत्कालीन समयमा शिक्षक भएपछि १२ कक्षा अनिवार्य पास हुनुपथ्र्यो । सोही कारण उनले पनि पढ्नैपर्ने बाध्यता भयो ।

उनी ११ कक्षामा भर्ना भइन् । बिहान क्याम्पस, दिउँसो स्कूल । २०६८ सालमा ११ कक्षामा अंग्रेजी विषयमा असफल भइन् तर २०६९ सालमा ११ कक्षाको अंग्रेजी तथा १२ कक्षा दुवैमा उत्तीर्ण भइन् ।

उनका ३ छोराछोरी जन्मिए, परिवारमा खटपट हुन थाल्यो । छोराछोरीलाई पालनपोषण र शिक्षादीक्षामा समेत समस्या पर्‍यो । ‘मैले बाध्यताले विदेश यात्रा रोजें,’ उनले भनिन् । उनी २०७० कात्तिक २१ गते वैदेशिक रोजगारीमा साइप्रस प्रस्थान गरिन् । 

त्यहाँ उनको कमाइ मासिक ३३१ युरो अर्थात् ४१ हजार ७०६ रुपैयाँ थियो । प्रत्येक आइतवार कम्पनीले बिदा दिन्थ्यो तर उनले आइतवार पनि काम गर्थिन् । कमाएको सबै रकम छोराछोरीका लागि पठाइन् । 

तत्कालीन समयमा छोरालाई छात्राबासमा राखिएको थियो । कान्छी छोरी ७ कक्षामा पढ्थिन् । जेठी छोरीले बुटबलकै कलेजमा पढ्थिन् । छोराछोरीकै लागि साइप्रस पसेकी खत्रीले ३ वर्ष ४ महिना काम गरिन्, फर्कने बेला ६ लाख रुपैयाँ बचत भयो ।

२०७४ सालमा स्थानीय निर्वाचन हुने भयो । त्यो बेला विमला साइप्रसमै थिइन् । पार्टीले गाउँमा उनको आवश्यकता महसूस गर्‍यो । तत्कालीन नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य लक्ष्मण विष्टले गाउँपालिका उपाध्यक्ष बन्न उनलाई नेपाल बोलाए । उनी फर्केर नेपाल आइन् । पार्टीले उपाध्यक्षमा टिकट पनि दियो, चुुनाव खर्चका लागि परदेशमा जुटाएको पैसा थियो । 

चुनावको बेला गाउँगाउँमा भाषण गर्दै आफू अनुकूल माहोल बनाइन् । निर्वाचनमा ४ हजार ९२३ मतले विजयी भइन् । विमलाले २०६७ देखि २०७० सालसम्म गाउँमा अभियान सञ्चालन गरेर अधुरो रहेको मदिरा नियन्त्रणलाई गाउँपालिकामा निर्वाचित भएपछि फेरि शुरू गरिन् ।

‘पहिलेकै अभियन्ता हुँ, त्यो अभियान सफल हुन सकेको थिएन । बीचमै बाध्यताले परदेश पसें,’ उनले भनिन्, ‘घरेलु हिंसा र सामाजिक अपराधको प्रमुख कारण मदिरा हो भन्ने राम्रोसँग बुझेकी थिएँ ।’

गाउँपालिकामा मदिरा नियन्त्रण कार्यविधि गाउँसभाबाट पास गरेर निरन्तर कार्यान्वयन भइरहेको छ । जसले गर्दा गाउँमा अहिले हिंसा र अपराधका घटना ८० प्रतिशतभन्दा कम भएका छन् ।

‘मदिराका कारण परिवारबाटै पीडित भएँ, पहिले समुदायमा काम गर्दा कुटाइ खाइयो । अहिले निर्वाचित भएपछि कार्यविधि बनाएर नियन्त्रण गरिरहेका छौं, समुदायको राम्रो साथ छ,’ उनले भनिन्, ‘बरू म पटक–पटक पार्टीकै नेताबाटै आलोचित भएकी छु । मदिरा नियन्त्रणले कार्यकर्ता भड्किए भन्नेसम्मको गलत बुझाइ कतिपय नेतामा अझै छ ।’

उनलाई अहिलेको अवस्थामा परिवार र पतिको ठूलो साथ छ । उनको सामाजिक र राजनीतिक जिम्मेवारी पूरा गर्न पति जगत खत्रीले पूर्ण साथ दिए । जगत विद्यालयका प्रधानाध्यापक हुन् ।

‘घरको काम र छोराछोरीको ख्याल म गर्छु । तिमी समाजसेवा र आफ्नो दायित्व पूरा गर भन्नुहुन्छ,’ विमलाले हाँस्दै भन्छिन् । कार्यकालको अन्त्यतिर आउँदा सोचेजस्तो काम गर्न सफल भएको उनले बताइन् । 

‘अझै पनि महिलाको नेतृत्वलाई समाजले सहजै स्वीकार गरेको छैन । जिम्मेवारी पूरा गर्न महिलाले पनि सक्छन् भन्ने पालिकाका उपप्रमुख र उपाध्यक्षले काम गरेर देखाएका छन्,’ उनले भनिन् ।
 
विमलाको माइती सबै कम्युनिस्ट हुन् । राजनीतिक अभियानमा एमाले सचिव गोकर्ण विष्टलगायत नेताहरू उनकै घरमा बस्थे । अहिलेकी मन्त्री रामकुमारी झाँकी र विमला सँगसँगै राजनीतिमा लागेका हुन् । उनी नेताहरूसँगै विभिन्न ठाउँमा नाचगानका लागि पुगिन् । विभिन्न सभा, भेला र प्रशिक्षणबाट उत्पन्न क्रान्तिकारी भावनाले उनलाई कम्युनिस्ट बन्ने प्रेरणा मिलेको बताइएको छ ।
 
विक्रम संवत् २०४८ सालमा बाँझकटेरी माध्यमिक विद्यालयमा अनेरास्ववियू पाँचौंमा आवद्ध भएर खत्रीले राजनीतिक यात्रा शुरू गरेकी हुन् । पछि तत्कालीन नेकपा एमाले हस्तिचौर गाउँ कमिटीमा आवद्ध हुँदै अनेम संघको तत्कालीन क्षेत्र नम्बर ३ को अध्यक्ष समेत भइन् उनी । त्यसपछि उनले शिक्षकहरूको संगठन जिल्ला कार्यसमितिमा आबद्ध भएर काम गरिन् । अहिले उनी एमाले गुल्मी जिल्ला कमिटी सदस्य छन् । 

salt training

कमेन्ट गर्नुहोस्