
चर्चित फेसन कोरियोग्राफर प्रसाद विडापाका छोरा एडम विडापालाई कर्नाटक प्रहरीले पक्राउ गरेको छ ।
एडम बिडापामाथि कन्नड अभिनेत्रीलाई अश्लील सन्देश पठाएर बैंगलोरमा उत्पीडन गरेको आरोप लागेको छ । प्रहरीले शनिवार सो जानकारी दिएको हो ।
इन्दिरानगर प्रहरीका अनुसार कन्नड अभिनेत्री सञ्जना गलरानीले एडम विडापाविरुद्ध अश्लील सन्देश पठाएको भन्दै उजुरी दिएकी थिइन् । तर, एडम विडापाले सबै आरोप अस्वीकार गरेको प्रहरीले जनाएको छ । ती अभिनेत्री गर्भवती छिन् र सामाजिक सञ्जालमा आफ्नो बेबीबम्पसँगको तस्वीरहरू शेयर गरिरहेकी छन् ।
फागुन २५ गते राति १० बजेदेखि १२ बजेसम्म एडम विडापाले अभिनेत्रीलाई अश्लील म्यासेज पठाएको उजुरीमा उल्लेख गरिएको प्रहरीले जनाएको छ । सञ्जना गलरानीले प्रहरीसमक्ष ह्वाट्सएप च्याटको प्रमाण बुझाएर दोषीमाथि कानुनी कारवाही गर्न माग गरेकी छन् ।
३५ वर्षीय एडम विडापालाई च्याटमा अभिनेत्रीलाई अश्लील सन्देश पठाएको र ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ । -जागरण