
नेकपा एमाले पाल्पा–काठमाडौं सम्पर्क मञ्चको ११ औं सम्मेलनले निल सारु मगरको अध्यक्षतामा ३७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
सर्वसम्मत निर्वाचित कार्यसमितिको उपाध्यक्षमा लक्ष्मण अधिकारी, सचिवमा दधिराम पोखरेल, सहसचिवमा सञ्जय भट्टराई र कोषाध्यक्षमा हरि भण्डारी रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष सारु मगरले पाल्पा जिल्लाको कम्युनिस्ट आन्दोलनमा पाल्पा सम्पर्क मञ्चको योगदान सदैव उल्लेखनीय रहेको उल्लेख गर्दै आगामी दिनमा मञ्चको राजनैतिक गतिविधिलाई अझ सशक्त ढंगले अगाडि बढाउन सबैको भूमिका रहनुपर्ने बताए ।
'पाल्पा जिल्ला हिजो पनि लालकिल्ला थियो, अब आउने चुनावमा पनि लाल किल्ला रहनेछ, उनले भने, 'पाल्पा जिल्लालाई आगामी चुनावमा लालकिल्ला बनाउनका लागि सम्पर्क मञ्चले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।'
नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश सहइञ्चार्ज दलबहादुर रानाको प्रमुख अतिथ्यमा सम्पन्न सम्मेलनमा सम्पर्क समन्वय कमिटीका सह–संयोजक थानेश्वर बस्याललाई समग्र सम्पर्क मञ्चहरूको अभियानमा गरेको योगदानको कदर गर्दै दोसल्ला ओडाएर सम्मान समेत गरिएको थियो ।