
निर्माणाधीन नारायणगढ–गोन्द्राङ छ लेनको सडकअन्तर्गत चार किलोमिटर सडकखण्ड कालोपत्रे गर्नेे तयारी भएको छ ।
दुई लेनको पूर्वपश्चिम राजमार्ग बजार क्षेत्रमा छ लेनमा विस्तार भइरहेको छ ।
१६ महिना अगाडिबाट सुरु भएको नारायणगढको पुलचोक गोन्द्राङ छ किलोमिटर लामो सडकमा मुआब्जा विवाद, विद्युत् पोल हटाउनेलगायतका समस्याले गर्दा काममा ढिलाइ भएको हो ।
अहिले एक स्थानमा बाहेक अन्यत्र समस्या नभएपछि कामले गति लिएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी शिव खनालले जानकारी दिए । भरतपुर विमानस्थलअगाडि रहेको एक स्थानमा मुआब्जा विवादले मुद्दा सर्वोच्च अदालतमा पुगेको छ ।
त्यो छिट्टै फैसला हुने क्रममा रहेकाले अब काममा कुनै अवरोध नहुने जानकारी खनालले दिए । गत वर्ष कात्तिक ११ बाट काम सुरु भएको यो सडकमा अहिले पूर्वतर्फ गोन्द्राङबाट कालोपत्रेका लागि तयारी गर्न थालिएको छ ।
डिभिजन सडक कार्यालयका अनुसार नाली निर्माण, फुटपाथ, स्थानीय साधन गुड्ने सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । कलभर्ट निर्माण सकिएको छ ।
“गोन्द्राङदेखि चौबीसकोठी चार किलोमिटर क्षेत्र यसै आर्थिक वर्षको असारसम्ममा निर्माण पूरा गर्ने लक्ष्य लिएका छौँ”, सूचना अधिकारी खनालले जानकारी दिए ।
एक अर्ब १२ करोड रुपियाँको लागतमा निर्माणाधीन सडकको बीच भागमा हरियाली बनाइने भएको छ । “पाँच मिटरको हरियाली बनाउन संरचना निर्माण गरिन्छ,” खनालले भने, “दायाँबायाँ साढे नौ मिटरको सडक बन्ने छ । मुख्य राजमार्गबाहेक दुवैतर्फ स्थानीय रुटका गाडी चल्नका लागि साढे पाँच मिटरको सडक निर्माण गरिन्छ । ” गोरखापत्र दैनिकमा खबर छ ।