३० जेठ २०८३, शनिबार

नेपालमा विदेशबाट छिट्टै राष्ट्रप्रमुख वा प्रधानमन्त्री तहको उच्चस्तरीय भ्रमण हुँदैछ : मन्त्री खड्का

फागुन २३, २०७८
नेपालमा विदेशबाट छिट्टै राष्ट्रप्रमुख वा प्रधानमन्त्री तहको उच्चस्तरीय भ्रमण हुँदैछ : मन्त्री खड्का
फाइल फोटो

परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालमा छिट्टै उच्चस्तरीय भ्रमण हुने बताएका छन् ।

परराष्ट्रमन्त्री खड्काले सोमवार सिंहदरबारमा पत्रकार सम्मेलन गरी विदेशबाट छिट्टै राष्ट्र प्रमुख वा प्रधानमन्त्री तहको उच्चस्तरीय भ्रमण हुने जानकारी दिए तर भ्रमण कसको हुने भन्ने कुरा चाहिँ समय आएपछि मात्रै जानकारी गराउने उनले बताए ।

मन्त्री खड्काले खास समय आएपछि उच्चस्तरीय भ्रमणबारे पत्रकारहरूलाई आफूले जानकारी गराउने पनि स्पष्ट पारे । चीनसँगको नाका खुलाउने विषयमा छलफल भएको र त्यो छिट्टै खुल्ने विश्वास समेत उनले व्यक्त गरे ।

चीनका विदेशमन्त्री वाडसँग नाका खुलाउनका लागि करीब १ घण्टा टेलिफोन संवाद गरेको उल्लेख गर्दै उनले दुवै देशको हितका लागि पनि नाका खुलाउन ढिलाइ गर्न नहुने बताए । मन्त्री खड्काले भने, ‘उच्चस्तरीय भ्रमणमा राष्ट्र प्रमुख र प्रधानमन्त्रीकै हुन्छ । त्यो चाहिँ समय आएपछि यहाँहरूलाई जानकारी हुन्छ नै ! अहिले नै भन्दा पनि त्यसलाई खास समयमा हामीहरूले यहाँहरूलाई जानकारी गराउने नै छौं । उत्तरी नाका खोल्न पहल गरिराखेका छौं । चीनका विदेश मन्त्री वाङसँग सोही माग राखेर १ घण्टा टेलिफोन वार्ता गरिएको छ । चिनिया राजदूतसँग पनि सो नाका खोल्ने विषयमा कुराकानी भएका छन् । दुवै देशको हितमा भएकाले नाका छिट्टै खुल्ने विश्वास लिएका छौं ।’

मन्त्री खड्काले युक्रेनमाथि रुसको आक्रमणले विश्व शान्ति खल्बल्याउने बताए । उनले ठूला र साना देशको सम्बन्ध पनि खल्बलिने भएकाले नेपालले असंलग्न परराष्ट्र नीतिमै अडिएर त्यस सम्बन्धमा वक्तव्य निकालेको दाबी समेत गरे । युक्रेनको पक्षमा नेपाल सरकारले वक्तव्य निकालेको प्रचार भइरहेका बेला मन्त्री खड्काले मुलुकको परराष्ट्र नीति, सबै राष्ट्रहरूको सार्वभौमिकता र संयुक्त राष्ट्र संघको बडापत्रको समेत सम्मान गर्दै नेपाल सरकारले वक्तव्य जारी गरेको स्पष्ट पारे ।

उनले भने, ‘खास गरेर एउटा सार्वभौमसत्ता सम्पन्न राष्ट्रमाथि जुन खालको हमला भयो । यसले विश्व शान्ति खल्बलियो । संयुक्त राष्ट्र संघको बडापत्र बमोजिम एउटा सदस्य राष्ट्र हौं र यसले ठूला–साना देशको सम्बन्धलाई खल्बल्याउने भएको हुनाले संयुक्त राष्ट्रसंघको बडापत्रको सम्मान गर्दै, हामीहरूले वक्तव्य पनि जारी गर्‍यौं र त्यो असंलग्न परराष्ट्र नीतिकै एउटा पाटो हो । सार्वभौमिकताको सम्मान हुनुपर्छ भन्ने हिसावले, संयुक्त राष्ट्र संघको बडापत्र र अन्तराष्ट्रिय कानूनलाई समेत सम्मान गर्दै वक्तव्य निकालिएको हो ।’

परराष्ट्र मन्त्रालयले विभिन्न देशमा रिक्त रहेका राजदूतहरूको नियुक्तिमा ढिलाइ नहुने बताएको छ । मन्त्री खड्काले विभिन्न देशमा रिक्त रहेका राजदूतहरूको नियुक्ति छिटोभन्दा छिटो हुने बताए । उनले एमसीसी वा सत्ता गठबन्धनका कारण राजदूत नियुक्तिमा ढिलाइ भएको स्वीकार गर्दै अब त्यसो नहुने प्रतिबद्धता जनाए ।

salt training

कमेन्ट गर्नुहोस्