
इलाम जिल्लाको रोङ गाउँपालिकाका पहिरो पीडितलाई गाउँपालिकाले सहयोग गरेको छ ।
गाउँपालिकाले वडा नम्बर ३ र ४ का पहिरो पीडितलाई आर्थिक सहयोग गरेको हो ।
गाउँपालिकाले १३ घर परिवारलाई प्रतिघर १ लाख रुपैयाँका दरले आर्थिक सहयोग गरेको हो । गाउँपालिकाका ती वडामा २०६८ सालदेखि पहिरो बग्न थालेको थियो ।
विक्रम संवत् २०७२ सालबाट पहिराले गाउँलाई जोखिम बनाएर १३ परिवार विस्थापित हुनुपरेको थियो । पहिरो पीडित घर–परिवारलाई बुधवार पहिरो प्रभावित क्षेत्रमै पुगेर गाउँपालिकाका अध्यक्ष शमशेर राई, उपाध्यक्ष चन्द्रकला राईलगायत जनप्रतिनिधि र कर्मचारीले प्रतिपरिवार १ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन् ।
पहिरोबाट विस्थापित भएका यामप्रसाद मगर, मनकुमारी लाप्चा, कौशिला खड्का, टंक बस्नेत, नरबहादुर बस्नेत, टेकबहादुर पिठाकोटी, इन्द्रबहादुर पिठाकोटी, भीमबहादुर मगर, बलबहादुर मगर, हस्तकुमारी मगर, भुवनकुमार बस्नेत, सन्तबहादुर लाप्चा र खड्गबहादुर राईको परिवारलाई प्रतिपरिवार १ लाख रुपैयाँका दरले चेक हस्तान्तरण गरिएको हो ।
पहिरो पीडितलाई घर–जमिन व्यवस्थापन गर्न रकम दिइएको गाउँपालिकाका अध्यक्ष राईले बताए । अध्यक्ष राईका अनुसार २०७४ सालमा स्थानीय तहको निर्वाचनपछि आफूहरू निर्वाचित भएर आउँदादेखि नै चुरे र जोखिम क्षेत्रको रोकथाम साथै नियन्त्रण गर्नका लागि निरन्तर रूपमा पहल भइरहेको छ ।
गाउँपालिकाले मात्र नसक्ने भएर प्रदेश र संघीय सरकारसमक्ष समेत सहयोगका लागि प्रक्रिया अगाडि बढाइएको उनले बताए । प्रदेशबाट यसअघि १० लाख रुपैयाँ विनियोजन भएर पहिरोको फेदमा बाँध बाध्ने काम अगाडि बढेको उनले बताए ।