
हवाइ यात्रुबाट पैसा उठाउने, लाभको व्यवसाय गर्ने, तर सेवा सुविधा उपभोग गरेबापत शुल्क नतिर्ने वायुसेवा सञ्चालक कारवाहीमा पर्ने भएका छन् ।
हवाइ क्षेत्रको नियामक निकायलाई तिर्नुपर्ने रकम वर्षौंसम्म नतिर्ने वायुसेवालाई कडा कारवाही गर्ने विषयमा आवश्यक तयारी भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जानकारी दिएको छ ।
‘वर्षौंदेखि बक्यौता नतिर्ने वायुसेवा र विभिन्न प्रकारको सेवा उपयोग गर्ने निकायप्रति कठोर भएर निर्णय नगर्दासम्म पैसा नै नउठ्ने भयो,’ नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीले भने, ‘त्यसैले कडा निर्णय गर्न सम्बन्धित वायुसेवाको विवरण संकलन थालिएको छ ।’
उनका अनुसार अब वर्षौंदेखि बक्यौता नतिर्ने र सेवामा समेत नरहेका वायुसेवा सञ्चालकहरूको बैंक खातादेखि राहदानीसमेत रोक्का हुँदैछ ।
यसका लागि ती सञ्चालकहरूको तीन पुस्ते विवरण उतार्ने काम भइरहेको छ । प्राधिकरणले सम्बन्धित विभिन्न सरकारी निकायलाई पत्र पठाएर बैंकखातादेखि पासपोर्टसम्म रोक्का गर्ने तयारी गरेको अधिकारीले बताए ।
१५ फागुनसम्मको तथ्यांकअनुसार प्राधिकरणले विभिन्न वायुसेवा तथा निजी कम्पनीसहितबाट उठाउनुपर्ने बक्यौता रकम १ अर्ब ७७ करोड रुपैयाँ छ ।
यस्तो रकम सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय र आन्तरिक वायुसेवा, बन्द अवस्थामा रहेका अन्तर्राष्ट्रिय र आन्तरिक वायुसेवा, सरकारी संस्था, सञ्चालनमा रहेका र नरहेका निजी पसल तथा कवलहरूको बक्यौताका रूपमा बाँकी छ ।
जहाज उडाउने, यात्रुबाट पैसा उठाउने अनि क्यानलाई चाहिँ नतिर्ने नियत भएका वायुसेवा र सञ्चालकप्रति कठोर हुनै पर्ने अवस्था आएको महानिर्देशक अधिकारीको भनाइ छ ।
यात्रु तथा सेवाग्राहीबाट नगद नै लिएर राज्यलाई तिर्नुपर्ने रकम नतिर्नेहरूलाई कारवाहीको तयारी भएको अधिकारीले बताए ।
‘वायुसेवा कम्पनीले ठग्ने नियत राखेर दिएको चेक बाउन्स भएको एक महिनासम्म पनि प्राधिकरणका कर्मचारीले थाहा नपाउनुमा हाम्रो कमजोरी पनि छ । यस्तो कमजोरीलाई सुधार गर्नुपर्छ,’ अधिकारीले भने, ‘प्राधिकरणलाई तिर्नुपर्ने पैसा नतिरी भागेका, वायुसेवा नै बन्द भएका सञ्चालकहरू अहिले पनि टाइसुट लगाएर त हिँडिरहेकै देखिन्छ । २० औं वर्षदेखि बक्यौता नतिर्ने ती सञ्चालक एयरलाइन्सको व्यापार बन्द गरेर अरू क्षेत्रमा लागेका छन् ।’
तीनको बैंक खाता र पासपोर्ट रोकिसकेपछि बाध्य भएर बक्यौता तिर्न आउने बुझाइ महानिर्देशक अधिकारीको छ । सञ्चालनमा रहेका वायुसेवाले पनि प्राधिकरणलाई करीब १९ करोड रुपैयाँ तिर्न बाँकी छ । ती वायुसेवाको पनि आगामी समर सेड्युल रोक्का गर्ने र त्यति गर्दा पनि पैसा नतिरे जहाजलाई नै निष्क्रिय राख्ने तयारी प्राधिकरणको छ ।
यसका लागि एक सातामा सञ्चालनमा भएका र नभएका वायुसेवा कम्पनी सञ्चालकको तीन पुस्ते विवरण आइपुग्छ । त्यसपछि प्राधिकरणले निर्णय गरेर कारवाही अगाडि बढाउने तयारी गरेको छ ।
नेपालमा एयर एसिया एक्सको जनरल सेल्स एजेन्ट्स (जीएसए) लिएका हरिमान लामाले प्राधिकरणलाई १८ करोड ७४ लाख रुपैयाँ तिर्न बाँकी छ ।
लामा अहिले पनि निर्बाध रूपमा हिँडडुल र अन्य व्यवसायमा सक्रिय छन् । उनलाई नियन्त्रणमा लिएर कारवाही नगर्दासम्म बक्यौता उठ्ने अवस्था नदेखिएको अधिकारीको बुझाइ छ ।
वायुसेवा कम्पनीबाहेक सरकारी निकाय, विमानस्थलमा सेवा सञ्चालन गरिरहेका विभिन्न निजी पसल, कवल तथा सम्बन्धित कम्पनीहरूको पनि बक्यौता बाँकी छ । उनीहरूबाट बक्यौता उठाउनका लागि पनि प्राधिकरणले आवश्यक कानूनी प्रक्रिया अगाडि बढाउने भएको छ ।
सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय वायुसेवाकै १७ करोड बाँकी
लोकान्तर प्राप्त तथ्यांकअनुसार सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले नै १७ करोड २५ लाख रुपैयाँ तिर्न बाँकी छ ।
नेपालमा उडान गरिरहेका वायुसेवाले असार मसान्तसम्ममा ३२ करोड रुपैयाँ तिर्नुपर्ने भएपनि साउन १ गते १५ करोड १८ लाख रुपैयाँ बुझाएका छन् । १७ वटा अन्तर्राष्ट्रिय वायुसेवाको १७ करोड रुपैयाँ बक्यौता बाँकी छ । यसमध्ये सबैभन्दा बढी सरकारी वायुसेवा कम्पनी नेपाल एयरलाइन्सकै ९ करोड ७ लाख रुपैयाँ रहेको छ । त्यसपछि बढी रकम बाँकी राख्नेमा भारतीय वायुसेवा कम्पनी एयर इन्डिया छ, उसले ३ करोड ६९ लाख रुपैयाँ तिर्न छ ।
एयर अरेबिया र एयर चाइनाको १६/१६ लाख रुपैयाँ बक्यौता छ । केही समय सञ्चालन गरेर बन्द गरेको बीबी एयरवेजले पनि २२ लाख रुपैयाँ तिरेको छैन । यसका साथै विमान बंगलादेशको २० लाख, चाइना इस्टर्नको २८ लाख र चाइना साउदर्नको ४० लाख रुपैयाँ बक्यौता छ ।
इत्तिहाद एयरलाइन्सको २१ लाख, हिमालयन एयरलाइन्सको १५ लाख, मलेसियन एयरको ८ लाख, मालिन्दोको २३ लाख, सलामको २५ लाख, सिचुवानको २० लाख पनि बाँकी छ ।
तिब्बत एयरलाइन्सको १२ लाख, टर्किसको ४६ लाख रुपैयाँसहित न्युनतम ५ लाखदेखि अधिकतम १८ करोडसम्म एउटै वायुसेवाको बक्यौता छ ।
सञ्चालनमा रहेका आन्तरिक वायुसेवा नै तिरेनन् १ करोड
आन्तरिक गन्तव्यमा सेवा दिइरहेका विभिन्न १९ वटा वायुसेवामध्ये नौ वटा वायुसेवाकै १ करोड १८ लाख रुपैयाँ बक्यौता रहेको छ ।
बक्यौता बाँकी राख्नेमा यती एयरलायन्सको ३८ लाख, सीता एयरको २१ लाख, माउन्टेन हेलिकप्टरको १७ लाख, श्री हेलिकप्टरको १५ लाख, ताराको १४ लाख, सौर्य एयलाइन्सको ७ लाख, सिम्रिक एयरको २ लाख रुपैयाँ बाँकी छ ।
एयर डाइनेस्टिको ९० हजार र समिट एयरको ३९ हजार रुपैयाँ बाँकी छ ।
आन्तरिक वायुसेवामा बुद्ध एयर, अल्टिच्यूड एयर, फिस्टेल एयर, हेली एभरेष्ट कैलाश हेलिकप्टर, मनाङ एयर, प्रभु हेलिकप्टर र गुण एयरलाइन्सको भने बक्यौता बाँकी छैन ।
बन्द रहेका वायुसेवाबाट २५ करोड उठेन
प्राधिकरणको तथ्यांकअनुसार नेपालमा उडान सञ्चालन गरेर लाभ लिएका तर विभिन्न बाहानामा उडान बन्द गरेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीबाटै २५ करोड ५१ लाख रुपैयाँ उठाउन बाँकी छ । यो रकम नतिरी भागेको वायुसेवामध्ये पुनः सञ्चालन इच्छा देखाएको गल्फ एयरकै १ करोड ८६ लाख रुपैयाँ बाँकी छ ।
यो वायुसेवाले बक्यौता तिरेपछि तुरुन्तै उडान अनुमति पाउने अवस्थामा रहेको प्राधिरकरणकै अधिकारीले बताएका छन् ।
नेपाल उडान सञ्चालन गरेर पैसा नतिरी भागेको एयर एसिया एक्सको पनि १८ करोड ७४ लाख २१ हजार रुपैयाँ बक्यौता छ ।
नेपालमा उडान सञ्चालन गरेर बाँकी बक्यौता राख्ने विभिन्न १९ वायुसेवामा एयर सहाराको ३४ लाख, बहराइन एयरको २४ लाख, बर्मा एयर र जीएमजी एयरलाइन्सको १/१ लाख रुपैयाँ बाँकी छ ।
अस्ट्रेलियन एयरलाइन्सको भने ४३ हजार मात्रै छ । थोरै रकम तिर्न बाँकी रहेको भएपनि अहिलेसम्म यसले बाँकी बक्यौता चुक्ता भने गरेको छैन ।
यस्तै जेट एयरवेजको २ करोड २ लाख, किङफिशरको १ करोड १५ लाख, लुफथान्साको १० लाख बाँकी छ ।
नेपालमा एक दशकअगाडि नै फिर्ता गएकादेखि महामारीपछि नआएका वायुसेवासम्मको बक्यौता बाँकी छ ।
हेर्नुहोस्, बाँकी बक्यौता विवरण :
सञ्चालनमा नरहेका आन्तरिक वायुसेवाकै ८ करोड बाँकी
विभिन्न समयमा उडान सञ्चालन गरेका र जोखिम बहन गर्ने क्षमता बनाउन नसकेर बन्द भएका आन्तरिक वायुसेवाकै ८ करोड ३४ लाख रुपैयाँ बाँकी रहेको छ ।
नेपालमा कुनै समय निकै चल्तीको मानिएका कस्मिक, नेकोन, गोर्खा, अल्पाइन, कर्णाली, सांग्रिला, स्काइलाइन, नेपाल एयरवेजसहितले प्राधिकरणले तिर्नुपर्ने रकम तिरेका छैनन् ।
प्राधिकरणले पासपोर्टदेखि बैंक खातासम्म रोक्का गरेर भएपनि बक्यौता उठाउने भनेको यिनै वायु सेवा कम्पनीहरूबाट हो । यी वायुसेवामध्ये सबैभन्दा बढी बाँकी बक्यौता राख्नेमा नेकोन एयर इन्टरनेसनल छ । उसले ४ करोड ६४ लाख रुपैयाँ तिर्न बाँकी छ । त्यसपछि धेरै बक्यौता राख्नेमा कस्मिक एयरको ३ करोड ३३ लाख रुपैयाँ छ ।
उडानबाट लाभ लिएका तर विभिन्न कारणले बन्द भएका आन्तरिक उडानका वायुसेवामा कर्णाली एयरको १६ लाख, गोर्खा एयरको साढे ६ लाख रुपैयाँ बाँकी छ । स्काइलाइन नेपालको ७ लाख र सांग्रिला एयरको पनि २ लाख रुपैयाँ बक्यौता छ ।
नेपाल एयरवेजको ९६ हजार, एयर नेपालको ७८ हजार, अल्पाइन एयरको ७२ हजार, गरुड एयरको २७ हजार, गोमा एयरको ६ हजार बाँकी छ । बक्यौता नतिर्ने यस्ता कम्पनीमा हिमालयन हेलिकप्टरको ६१ हजार, माउन्टेन एयरको २६ हजार, मुक्ति एयरलाइन्सको २६ हजार बाँकी बक्यौता रहेको छ ।
यी बाहेक विभिन्न सरकारी निकायले ५७ करोड तिर्नुपर्ने छ । विमानस्थलभित्र पसल सञ्चालन गर्ने विभिन्न ४६ वटा निजी फर्म तथा कम्पनीहरूले पनि ५२ करोड रुपैयाँ प्राधिकरणलाई बुझाएका छैनन् । यीमध्ये करिब ४० वटा पसलहरू मुद्दा मामिलामा गएका छन् ।
प्राधिकरणका अनुसार ती सबैले कुनै न कुनै प्रकारको रकम तिर्नुपर्ने छ । बाँकी बक्यौता नतिर्ने कम्पनीलाई हटाउने वा जरिवाना गराएरै भएपनि रकम तिर्न लगाउने तयारी प्राधिकरणको छ ।
विमानस्थलभित्र तथा उड्डयन प्राधिकरणसँग समन्वय गरेर कारोवार भइसकेका र हाल सञ्चालनमा नरहेका ५१ वटा निजी क्षेत्रका विभिन्न निकायले पनि प्राधिकरणलाई १५ करोड ८९ लाख रुपैयाँ तिरेका छैनन् । यो रकम उठाउन पनि प्राधिकरणले सम्बन्धित व्यवसायी र फर्महरूको विवरण संकलन गरेर सार्वजनिक गर्ने भएको छ ।
प्राधिकरणलाई तिर्नुपर्ने रकम नतिर्ने ती व्यवसायी वा निजी क्षेत्रको पनि पासपोर्ट तथा बैंक खाता रोक्का गर्न लगाएरै भए पनि बक्यौता असुलउपर गर्ने तयारी प्राधिकरणले गरेको छ ।
करीब १ महिनाअगाडि मात्रै संसदीय समितिले बाँकी बक्यौता उठाउन निर्देशन दिएपछि प्राधिकरण थप सक्रिय भएको हो ।