
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मृत्युपश्चातको अंगदान गर्न आग्रह गरेका छन् ।
बिहीवार विश्व मिर्गौला दिवसको अवसरमा विभिन्न संघसंस्थाले संयुक्त रुपमा आयोजना गरेको प्रभातफेरीलगायतका कार्यक्रममा भाग लिँदै मन्त्री खतिवडाले मृत्युपश्चातको अंगदान गर्न सबैलाई आग्रह गरेका हुन् ।
मृत्यु पश्चातको अंगदान गरेमा मिर्गौला पीडितहरूले पनि धेरै सुविधा पाउने उनले बताए । मन्त्री खतिवडाले पहिले मिर्गौला दान गर्न पाउने समूह साँघुरो भएको उल्लेख गर्दै हाल सरकारले सो समूहलाई ठूलो बनाएको बताए ।
नाता पर्नेजति सबैले मिर्गौला दान गर्न सक्ने उनले स्पष्ट पारे ।
‘मिर्गौलापीडितले आफूलाई मिर्गौला दिने, म्याच गर्ने मान्छेहरूको खोजी गर्न नसक्नाले पनि केही मान्छेहरू उपचारबाट वञ्चित भएको देखिएको हो,’ उनले भने, ‘अहिलेसम्म हामीले नेपाल सरकारको तर्फबाट मिर्गौला खोजेर गरिदिने भन्ने परिस्थितिमा हामी छैनौँ । पहिला कानून साँघुरो थियो, फेरि यसलाई दुरुपयोग पनि भएको हुनाले हामीले कानून बनाउनु परेको हो ।’
अहिले दान गर्न पाउने सर्कललाई ठूलो बनाएको उनले बताए ।
मन्त्री खतिवडाले मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरू पनि मिर्गौला नफेरेका व्यक्तिहरू जस्तै स्वस्थ हुन सक्ने भन्दै आत्तिन नहुने बताए ।
मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरूले चिन्तित भएर आफूलाई कमजोर बनाउन नहुने उनको भनाइ छ ।
मार्च १० को दिन मनाइने विश्व मिर्गौला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।