टर्कीको अन्ताल्यामा परराष्ट्रमन्त्रीहरूको बैठकमा रुस र युक्रेनबस्च भएको वार्ता विफल भएको छ ।
रुसका परराष्ट्रमन्त्री सर्गे लाभरोभले युक्रेनमाथि रुसले आक्रमण नगरेको बताए । उनले मारिउपोलमा रहेको अस्पतालमा गरिएको बमवर्षालाई दयनीय विलापको पनि संज्ञा दिए ।
वार्ता विफल भएपछि लाभरोभले भने, ‘हामी अरू देशमा आक्रमण गर्ने योजनामा छैनौं । हामीले युक्रेनलाई पनि आक्रमण गरेका हैनौं ।’
पश्चिमले तनाव चर्काएको आरोप लगाउँदै लाभरोभले युक्रेनमा रुसले विशेष कारवाही मात्र चलाएको बताए ।
युक्रेनी जनतालाई कथित टेरिटोरियल डिफेन्स फोर्सेसले मानवढालका रूपमा उपयोग गरिरहेको पनि लाभरोभले बताए । नागरिकहरूलाई सुरक्षित निष्काशन गर्नका लागि रुसले मानवीय कोरिडोर बनाइरहेको उनको दाबी छ ।
अस्पतालमा गरिएको आक्रमणका विषयमा लाभरोभले बताए, ‘रुसी सेनाले गरिएको भनिएको ज्यादतीका विषयमा दयनीय विलाप गरिने गरेको यो पहिलोपटक हैन ।’
अस्पताललाई युक्रेनका उग्रवादीहरूले कब्जामा लिएको र सबै आमा तथा नर्सलाई त्यहाँबाट लखेटेको दाबी पनि लाभरोभले गरे ।
युक्रेनलाई पश्चिमले हतियार पनि उपलब्ध गराइरहेको आरोप लाभरोभले लगाए ।