
नेपाली कांग्रेस लुम्बिनीले आउँदो स्थानीय तहको निर्वाचनमा अन्य पार्टीसँग गठबन्धन गर्ने वा नगर्ने सम्बन्धमा सम्बन्धित पालिकालाई जिम्मा दिनुपर्ने बताएको छ ।
कांग्रेसको प्रदेश कार्यसमितिको बैठकले गठबन्धन गर्ने या नगर्ने सम्बन्धमा स्थानीय तहको आवश्यकता र परिस्थिति अनुसार केन्द्रीय समितिको नीति, निर्देशन समेतलाई आधार बनाउने निर्णय गरेको हो ।
बिहीबार बैठकका निर्णय सार्वजनिक गर्दै प्रदेश सभापति अमरसिंह पुनले चुनावी तालमेलको जिम्मा सम्बन्धित स्थानीय तहलाई दिनुपर्ने बताए । ‘केन्द्रबाट गठबन्धन गर्न दबाब दिन हुँदैन । त्यस्तो गठबन्धन पार्टी र नेपाली जनताको हितमा हुन सक्दैन,’ सभापति पुनले भने ।
पुनले एकल रुपमा चुनाव लडेमा कांग्रेसले लुम्बिनीका ४ उपमहानगर सहित बहुमत स्थानीय तह जित्ने दाबी गरे । उनले चुनाव प्रचार प्रसारलाई समय मिलोस् भनेर सकभर छिटो उम्मेदवार टुंगो लगाउनुपर्ने बताए ।
यस्तै कांग्रेस लुम्बिनी प्रदेश समितिले स्थानीय तहका उम्मेदवारहरूलाई छनोट गर्न विधि र मापदण्ड तय गरेको छ ।
उमेदवार छनोटको लागि पार्टीमा गरेको योगदान, जनाधार मूल्यांकन, कार्यक्षमता र कार्यकुशलता, दक्षतासहितको समावेशीतालाई प्राथमिकता, क्रियाशीलता, निरन्तरता लगायतलाई आधार बनाएको प्रदेश सभापति पुनले बताए । यस्तै प्रदेशका ५२ वटै प्रदेश निर्वाचन क्षेत्रमा प्रतिनिधि पठाउने निर्णय पनि बैठकले गरेको छ ।