
स्थानीय तहको निर्वाचनका लागि दर्ता हुन निर्वाचन आयोगमा निवेदन दिएका ८० राजनीतिक दलहरूको जाँचबुझ प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीवार विज्ञप्ति जारी गर्दै ८० राजनीतिक दलहरूको जाँझबुझ प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएका हुन् ।
उनका अनुसार, मतदाता नामावली अद्यावधिक (दाबी विरोध समेत) कार्यक्रम, २०७८ अन्तर्गतका कार्यक्रमहरु संचालन भइरहेको छ ।
यस्तै स्थानीय तह निर्वाचनका लागि आवश्यक हुने २३ प्रकारका निर्वाचन सामग्रीहरुको खरिदका लागि दश प्याकेजमा प्रकाशित बोलपत्रको सूचना बमोजिम पर्न आएका बोलपत्रहरु मध्ये सबैभन्दा न्यूनतम मूल्याङ्कन भएको बोलपत्रहरु आयोगको फागुन २२ को निर्णय बमोजिम स्वीकृत भई सम्झौताको प्रक्रिया अगाडी बढेको उनले बताएका छन् ।
स्थानीय तह निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुको नामावली सम्बन्धित निकायबाट प्राप्त भएको छ र यी नामावलीहरु हाल अध्ययनको क्रममा रहेको समेत आयोगले जनाएको छ ।