२२ जेठ २०८३, शुक्रबार

आज सर्वदलीय बैठक, तीनै तहमा प्रतिनिधित्व गर्ने दलसँग संवाद गर्दै निर्वाचन आयोग

फागुन २७, २०७८
आज सर्वदलीय बैठक, तीनै तहमा प्रतिनिधित्व गर्ने दलसँग संवाद गर्दै निर्वाचन आयोग

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन घोषणा भएपछि भएका प्रगति र आगामी रणनीतिबारे छलफल गर्न संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दललाई बोलाएको छ ।

स्थानीय तह निर्वाचन घोषणा भएको २४ फागुनमा १ महिना पुगेको छ । आयोगले सो अवधिमा भएका काम, अबको तयारी र आसन्न निर्वाचनमा दलहरूको भूमिकाबारे छलफल गर्न शुक्रवार ११ बजेका लागि स्थानीय तहदेखि केन्द्रसम्म प्रतिनिधित्व गर्ने दलहरूलाई बैठकमा बोलाएको हो ।

बैठकमा संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलहरूलाई डाकिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए । ‘आयोगले स्थानीय तह निर्वाचनका लागि सम्पन्न गरेका काम र अबको तयारीबारे जानकारी दिन दलहरूलाई छलफलमा बोलाएको हो,’ आयोगका प्रमुख आयुक्त थपलियाले भने ।

स्थानीय तहको निर्वाचनमा सहभागी हुन ८० दलले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् । आयोगमा दर्ता कायम भएका १११ दलमध्ये ८० दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका हुन् ।

ती दलका सम्बन्धमा आयोगले जाँचबुझ अन्तिम चरणमा पुर्‍याएको र आयोगले स्थानीय तह निर्वाचनमा भाग लिने दलहरूको नाम सार्वजनिक गर्ने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

सरकारले देशका ७५३ वटै स्थानीय तहमा एकैदिन एकैपटक स्थानीय तहको निर्वाचन गर्नेगरी ३० वैशाख २०७९ का लागि निर्वाचनको मिति घोषणा गरिसकेको छ ।

पछिल्लो समय आयोगले मतपत्रमा हरियो रंग प्रयोग गर्ने निर्णय गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आयोगसँग असन्तुष्ट बनेको छ । जनप्रतिनिधि पदमा बहाल रहँदा उम्मेदवार बन्न पाउने कि नपाउने भन्ने विषयमा पनि निर्णय भइसकेको छैन । यी विषयमा समेत सर्वदलीय बैठकमा छलफल हुँदैछ ।

आयोगले मतदाता नामावली अद्यावधिक (दाबी विरोध समेत) अन्तर्गतका कार्यक्रम सञ्चालन भइरहेको जनाएको छ । चुनावका लागि आवश्यक हुने २३ प्रकारका निर्वाचन सामग्रीको खरिदका लागि १० प्याकेजमा प्रकाशित बोलपत्रको सूचनाबमोजिम पर्न आएका बोलपत्रमध्ये सबैभन्दा न्यूनतम मूल्यांकन भएको बोलपत्र स्वीकृत भई सम्झौताको प्रक्रिया अगाडि बढेको पनि आयोगले जनाएको छ ।

स्थानीय तह निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको नामावली सम्बन्धित निकायबाट प्राप्त भएको र यी नामावलीहरू हाल अध्ययन क्रममा रहेको आयोगका सहायक प्रवक्ता अर्यालले जानकारी दिए ।

आगामी स्थानीय तहको निर्वाचनमार्फत ६ महानगरपालिका, १२ उपमहानगरपालिका, २७५ नगरपालिका र ४६० गाउँपालिका गरी कूल ७५३ स्थानीय तहमा रहेका ६ हजार ७४३ वडामा ३५ हजारभन्दा बढी जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

स्थानीय तहको निर्वाचनमार्फत सबैभन्दा ठूलो संरचना महानगरदेखि तल्लो तहको संरचना वडा तहसम्ममा जनप्रतिनिधि चयन हुनेछन् ।

आयोगका अनुसार २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा १ करोड ४० लाख ७४ हजार ४२४ मतदाता कायम भएका थिए । त्यसपछि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पुग्दा कूल मतदाता १ करोड ५४ लाख पुगेको थियो भने गत पुससम्म दर्ता भएको नामावलीअनुसार १ करोड ६४ लाख मतदाता संख्या पुगेको छ । राजधानीमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्