३१ जेठ २०८३, आइतबार

स्थानीय तह निर्वाचनमा सम्पूर्ण शक्ति केन्द्रित गर्ने एकीकृत समाजवादीको निर्णय

फागुन २७, २०७८
स्थानीय तह निर्वाचनमा सम्पूर्ण शक्ति केन्द्रित गर्ने एकीकृत समाजवादीको निर्णय

सत्तारूढ नेकपा एकीकृत समाजवादीले सम्पूर्ण शक्ति आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा केन्द्रित गर्ने भएको छ ।

बिहीवार काठमाडौंमा सम्पन्न एकीकृत समाजवादीको तेस्रो पूर्ण बैठकले आफ्नो सम्पूर्ण शक्ति स्थानीय तहको निर्वाचनमा केन्द्रित गर्ने निर्णय गरेको हो ।

एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले केन्द्रीय कमिटीको बैठकमा आगामी निर्वाचनबारे विस्तृत छलफल गर्दै पार्टीको गतिविधि निर्वाचन केन्द्रीय गर्ने बताए ।

‘पार्टीको सम्पूर्ण शक्ति आगामी स्थानीय तहको निर्वाचनमा केन्द्रित गर्छौं । पालिका, वडादेखि टोलटोलमा कमिटी गठन विस्तार लगायतका काम गर्ने निष्कर्ष केन्द्रिय कमिटीको बैठकले निकालेको छ,’ प्रवक्ता खतिवडाले भने ।

आगामी निर्वाचनमा गठबन्धन गरेर निर्वाचनमा जाने निष्कर्ष समेत बैठकको छ । सत्तारूढ दलबीच गठबन्धन गरेर निर्वाचनमा सहभागी हुनेबारे छलफल भएको उनले बताए । गठबन्धनमा छलफलका लागि शीर्ष नेतालाई जिम्मेवारी दिइएको छ ।

‘समाजवादको कार्यदिशा अँगालेको हाम्रो पार्टीले स्थानीय तहको आसन्न निर्वाचनलाई अत्यन्त ठूलो महत्त्व दिएको छ र सम्पूर्ण शक्ति एकताबद्ध रूपमा परिचालित गर्ने निर्णय गरेको छ,’ बैठकको निष्कर्ष सुनाउँदै प्रवक्ता खतिवडाले भने, ‘यस सन्दर्भमा यो बैठक आगामी स्थानीय निर्वाचनमा आफ्नो शक्तिलाई संगठित र मजबुत बनाउँदै गठबन्धनमा रहेका सम्पूर्ण दलसँग सहकार्य गरी लोकतन्त्र र संविधानको रक्षा गर्दै स्थानीय निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई अत्याधिक स्थानमा निर्वाचित गराउन र स्थानीय सरकारलाई भ्रष्टाचारमुक्त र जनमुखी ढंगले परिचालन गर्न प्रतिबद्धता जाहेर गर्दछ ।’

बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित भएको छ । एकीकृत समाजवादीका उपाध्यक्ष धर्मनाथ साहले बैठकमा ९ समूहमा भएको छलफल र प्राप्त सुझावका आधारमा राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित भएको बताए ।

बैठकले मोर्चा संगठन सञ्चालन निर्देशिका तथा सम्पर्क मञ्च सञ्चालन निर्देशिका समेत छलफल गरेर सुझावसहित पारित गरेको साहले बताए ।

गण्डकी प्रदेशबाट रेखा थापा बस्याल, सुदूरपश्चिम प्रदेशबाट शेरबहादुर कुँवर, मधेश प्रदेशबाट सत्यनारायण यादव, १ नम्बर प्रदेशबाट धर्मराज पौडेल, बाग्मती प्रदेशबाट विदुर सापकोटा, कर्णाली प्रदेशबाट अमर थापा, लुम्बिनी प्रदेशबाट राजु गुरुङ, उपत्यका तथा सम्पर्क विशेष प्रदेशबाट केदार सञ्जेल र मोर्चा तथा विभागबाट प्रमेश पोखरेलले समूहबाट आएको सुझाव बैठकमा पेश गरेका थिए ।

‘वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र राष्ट्रिय राजनीतिक परिस्थितिको विश्लेषण, एमसीसी र त्यसको व्याख्यात्मक घोषणाको चर्चा, पार्टी पुनर्गठनदेखि हालसम्म भएका संगठनात्मक कार्यहरूको समीक्षा र पार्टीको आगामी कार्य योजनालगायतका विषय बैठकमा गम्भीर रूपमा छलफल भएको छ,’ उपाध्यक्ष साहले भने ।

बैठकमा पश्चिमी शक्ति राष्ट्रको रणनीतिक उद्देश्य र प्रभुत्ववादी नीति तथा रुसको आफ्नो सुरक्षा संवेदनशीलताको कारणले युक्रेनमाथि रुसले सशस्त्र आक्रमण गरेको निष्कर्ष निकालेको छ ।

‘यही बेला अमेरिकाले सोमालियामाथि, एयर स्ट्राइक गरेको छ । साउदी अरबले यमनमाथि बम खसालेको छ र इज्रायलले प्यालेस्टाइनको गाजा क्षेत्रमा र सिरियामा हमला गरेको छ । यी आक्रमणबाट विश्व शान्तिमा गम्भीर असर परेको छ । आक्रमणमा परेका ठाउँबाट १०औं लाख मानिस आफ्नो थातथलोबाट विस्थापित भएका छन् । युद्धको प्रकोपले श्रमजीवीवर्गको जीवन अझ कष्टकर बनेको छ । यो बैठक विश्वलाई अशान्त, अमानवीय युद्धग्रस्त बनाउने दुस्कार्यप्रति खेद प्रकट गर्दछ । आक्रमणमा परेकाहरूप्रति साहानुभूति प्रकट गर्दछ,’ बैठकको निष्कर्षमा उल्लेख गरिएको छ ।

बैठकले पटक–पटकको पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले सर्वसाधारण जनताको दैनिक जीवन कष्टकर बनिरहेको निष्कर्ष निकाल्दै मूल्यवृद्धिले सरकारसँग दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिलाई नियन्त्रण गर्न जोडदार माग गरेको छ ।

‘महंगीले जनता आक्रान्त छन् । आयातमुखी र उपभोक्तावादी प्रवृत्तिले आर्थिक सामाजिक जीवन संकटग्रस्त बन्दै गएको छ । राष्ट्रिय महत्त्वको आयोजनालगायत अधिकांश आयोजना समयमा सम्पन्न हुन सकिरहेका छैनन् । निजी क्षेत्रको लगानी पनि वृद्धि हुन सकेको छैन । त्यसमाथि कोभिड–१९ ले उद्योग, व्यवसाय र रोजगारीमा गम्भीर समस्या थपेको छ । आर्थिक असमानता, गरिबी र बेरोजगारी व्याप्त छ । अर्थतन्त्रमा दलाल र नोकरशाही पुँजीवाद हाबी रहेको छ । मुलुकको यस अवस्थाप्रति संवेदनशील हुँदै यो बैठक सरकारलाई आमूल आर्थिक सुधार र विकाससम्बन्धी ठोस कार्यक्रम र नीति तर्जुमा गर्न आह्वान गर्छ,’ एकीकृत समाजवादीले निर्णय गरेको छ ।

बैठकले राज्यका सबै अंगमा भ्रष्टाचार कमिसनतन्त्र र विचौलियाको दबदबा मौलाएको अवस्थामा सरकारद्वारा भ्रष्टाचार र कमिसनखोरविरुद्ध गरिएको केही कारबाहीले सकारात्मक तरंग उत्पन्न गरेको निष्कर्ष निकालेको छ ।

जनचाहनाअनुरूप राज्यका सबै अंग र तहमा भ्रष्टाचारको छानबिन गर्न र भ्रष्टाचारीमाथि कारबाही गर्न एउटा शक्तिशाली छानबिन कमिटी गठन गर्न सरकारसँग बैठकले माग गरेको छ ।

मलको अभावमा बर्सेनि किसानरूले अत्याधिक समस्या बेहोर्नुपरेको जगजाहेर रहेकाले मलको अभाव हुन नदिन समयमै सुलभ उपलब्धता र आपूर्तिको व्यवस्था मिलाउन सरकारको बैठकले ध्यानाकर्षण गराउँदै मलखादको कारखाना स्थापनाको पहल गर्न एकीकृत समाजवादीले माग गरेको छ ।

लामो समयदेखि विद्यमान रहेको सुकुम्बासी समस्या समाधान गर्न पुनर्गठन गरिएको भूमि समस्या समाधान आयोगले यथाशीघ्र सही सुकुम्बासी पहिचान गरी प्रभावकारी ढंगले दीर्घकालीन समाधानको पहल गर्न बैठकले माग गरेको छ ।

पञ्चायतकालमा राजनीतिक पूर्वाग्रहका कारण निष्कासनमा परेका शिक्षकको पुनर्बहालीका लागि २०५४ वैशाख २० मा श्री वेदनिधि निरालाको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदनअनुसार निष्कासित शिक्षकको पुनर्बहालीका लागि समेत बैठकले माग गरेको छ ।

वास्तविक नेपाली नागरिकलाई नागरिकता प्रदान गर्ने, संघीयतालाई प्रशासनिक रूपमा व्यवस्थापन गर्ने, निजामती सेवालाई व्यवस्थित गर्ने तथा ३ वटै तहको सरकारबीच काम र भूमिकालाई व्यवस्थित गर्ने ऐनकानुन यथाशीघ्र निर्माण गर्न बैठकले सरकारको ध्यानाकर्षण गराएको छ ।

पार्टीले उठाउँदै आएको नेपालको राष्ट्रिय हित, संविधानको सर्वोच्चता, सार्वभौमिकता, समाजवादको संकल्प र असंलग्न परराष्ट्र नीतिमा अघात पुर्‍याउन सक्ने प्रावधानलाई ‘व्याख्यात्मक घोषणा’मा समावेश गरेर नेपाल र एमसीसीबीच भएको सम्झौता कम्प्याक्ट प्रतिनिधिसभाबाट अनुमोदन भएको एकीकृत समाजवादीले जनाएको छ ।

सम्झौताको अंगका रूपमा रहेको उक्त व्याख्यात्मक घोषणालाई सम्झौताको दुवै पक्षले स्वीकार गर्छ भन्ने कुरामा एकीकृत समाजवादी विश्वस्त छ । साथै संसद्बाट अनुमोदित उक्त व्याख्यात्मक घोषणालाई सम्झौताको अर्को पक्ष एमसीसीसमक्ष कूटनीतिक प्रक्रियाअनुरूप दस्तावेज पठाई सहमति प्राप्त गर्न नेपाल सरकारसँग माग गरिएको छ ।

महाकाली नदीको प्राकृतिक बहावलाई परिवर्तन गरी दार्चुलाको सदरमुकाम समेतलाई क्षति पुग्नेगरी भारतीय पक्षले गरिरहेको निर्माण कार्यलाई तत्काल रोक्न सरकारसँग माग गर्दै एकीकृत समाजवादीले प्रभावकारी कदम चाल्न सरकारसँग अनुरोध गरेको छ । राजधानीमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्