
वरिपरि कालो प्लास्टिकको बार । टिनले छाएको बार्दली । नागार्जुन–६ रामकोटस्थित डाँडापौवामा ‘ठिंग उभिए’ जस्तो २ तले सेतो रङको पक्की घर ।
दोस्रो तलामा कात्तिकदेखि ‘फल्याट’ भाडामा लिएर बस्थ्यो, ६२ वर्षीया इन्दिरामाया प्रधानको ५ जनाको परिवार । छिमेकीसँग खासै कुराकानी नगर्ने यो परिवारमा सोमबार ‘अकल्पनीय’ दुर्घटना आइपर्यो ।
परिवारका १ सदस्य सोमवार साँझ मृत भेटिए । ४ जना अचेत अवस्थामा । पाँचै जनाले सामूहिक रूपमा विष सेवन गरेको मनमोहन अस्पताल स्रोतले जनाएको छ ।
यो घटनापछि छिमेकीको निद्रा खलबलिएको छ । शान्त वातावरण भंग भएको स्थानीय बताउँछन् । सामान्य आर्थिक अवस्था भएको इन्दिरामायाको परिवार गत कात्तिकदेखि डाँडापौवामा बस्न आएको थियो ।
६२ वर्षीया इन्दिरामाया, उनका छोरा ३८ वर्षका भीममान, बुहारी ३५ वर्षीया मन्दिरा र नातिनी ११ वर्षीया सुप्रिया अचेत छन् । ३३ वर्षीय सुर्वणमान प्रधान मृत भेटिएका थिए । सुवर्णमान भीममानका दाइका छोरा भएको स्थानीय बताउँछन् ।
इन्दिरामायाको परिवारले ४ वटा कुकुर पालेको थियो । तिनीहरू प्रायः भुकिरहन्थे । सोमवार बिहानदेखि नै नराम्रोसँग भुकेको छिमेकी मानन्धर स्टोर्सका सञ्चालक राजेश मानन्धरले बताए । साँझसम्म पनि कराउन नछाडेपछि गडबडी भयो कि भनेर शंका लागेको राजेशले सुनाए ।
उनले भने, ‘रात पर्दा पनि कोठामा बत्ती बलेन । मान्छेको कुनै चालचुल पनि देखिएन । त्यसपछि मैले घरबेटीलाई फोन गरें ।’ राजेशको फोनपछि घरबेटीले इन्दिरामायाका आफन्तलाई फोन गरे ।
इन्दिरामायाको परिवार डल्लुबाट अंशबन्डा गरी रामकोट बस्दै आएको थियो । शंका लागेपछि राजेशलगायत स्थानीयले घरको कैंची गेटबाट हेरे । त्यो बेला झ्यालनजिक कोही सुतिरहेजस्तो खुट्टा देखिएको राजेशले बताए । त्यसपछि, प्रहरीलाई खबर गरिएको थियो । प्रहरी घरभित्र पुग्दा सुर्वणमानको ज्यान गइसकेको थियो । ४ जना अचेत थिए ।
‘त्यो सानी बच्ची (११ वर्षीया सुप्रिया) लाई त मैले नै बोकेर तल झारेको हुँ,’ राजेशले भने ।
उनका अनुसार प्रधान परिवारका कोही पनि सदस्य छिमेकीसँग कुराकानी गर्दैनथे । सधैं तनावमै भएजस्तो देखिन्थे । कोही सदस्य बिरामी छन् भन्ने सुनेको उनले बताए । ‘उनीहरू यो घरमा सरेको पनि धेरै भएको छैन,’ उनले भने, ‘बाहिर कसैसँग बोल्दैनथे ।’ ३ महिनाको समयमा भीममान २ पटक मात्रै राजेशको पसलमा आए । इन्दिरामाया भने अण्डा किन्न बेलाबेला पसल आउजाउ गरेको राजेशले बताए ।
सोही घरको तल्लो तल्लामा भाडामा बस्ने कालीमाटीकी चन्द्रा कार्की पनि उक्त परिवार प्रायः अरूसँग नबोल्ने गरेको बताइन् । ‘कहिलेकाहीँ मन्दिरा दिदी बोल्नुहुन्थ्यो,’ कार्कीले भनिन्, ‘प्रेसरमै देखिनुहुन्थो । बिरामीजस्तो ।’ उनका अनुसार सानी नानी स्कूल जाँदा–आउँदा बोल्ने गर्थिन् । सुर्वणमान भने कौसीमा निस्केर चुरोट पिउने गरेको देखेको कार्कीले बताइन् । ‘मन्दिराले आमा र भीममान दाइ पनि बिरामी हुनुहुन्छ भनेर सुनाउँथिन्,’ उनले भनिन् ।
घटनाको अनुसन्धानमा सहभागी प्रहरीका अनुसार आइतवार साँझ नै विष सेवन गरेर ‘आत्महत्या’को प्रयास गरेको देखिन्छ । कोठामा विषादीका प्याकेट, जुसको खाली बोतल र चिनी यत्रतत्र भेटिएको जनाइएको छ ।
इन्दिरामायाको परिवार आर्थिक रूपमा समस्यामा पाइएको महानगरीय प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले सुनाए । इन्दिरामाया क्यान्सर बिरामी थिइन् । भीममान र सुर्वणमानले मानसिक रोगको औषधि सेवन गरिरहेको प्रेस्किप्सन फेला परेको छ ।
विष सेवनबाट घाइते चारै जनाको मनमोहन अस्पताल सीतापाइलामा उपचार जारी रहेको मैनालीले बताए । मन्दिराको स्वास्थ्यमा केही सुधार भएको जानकारी अस्पतालले दिएको मैनालीले बताए ।
घटनाको प्रकृति हेर्दा मन्दिरा र भीममानको योजनामा अन्यले पनि अन्जानबस विष सेवन गरेको प्रहरी बताउँछ । जुसमा विष घोलेर आमा, छोरी र भतिजालाई खुवाएको प्रहरीको अनुमान छ । मन्दिरा र भिममानले केही दिनअघि नै आत्महत्याको योजना बनाएको अनुसन्धानले देखाएको छ ।
मन्दिराले फागुन १८ गते र भीममानले फागुन २० गतेको मिति राखेर सुसाइड नोट लेखेको प्रहरीले जनाएको छ । सुसाइड नोट उनीहरूको हो/होइन परीक्षण गर्न फरेन्सिक ल्याबमा पठाइएको मैनालीले बताए ।
त्यसमा सबै हरहिसाब बुझाएर १४ पानाको विवरण लेखिएको छ । आर्थिक लेनदेनका कारण निकै समस्यामा परेको र मानसिक रूपमा बिच्छिप्त बनेको लेखिएको प्रहरीले जनाएको छ । लेनदेनको हिसाब बिग्रिएपछि आफूहरूको संसार नै अध्यारो भएको उनीहरूले लेखेका छन् । कोठामा भएको सामान दाइलाई दिनको लागि नोटमा लेखिएको छ ।
मन्दिराले काम गर्ने फाइनान्सबाट परिवारले ऋण लिएको देखिएको प्रहरीको अनुमान छ । आर्थिक हिनामिना देखिएपछि फाइनान्सका प्रतिनिधि र मन्दिराबीच केही दिनअघि जनसेवा प्रहरीमा छलफल भएको थियो तर ऋण कति थियो भनेर यकिन भई नसकेको मैनालीले बताए ।
‘कोभिडपछि उनीहरूको व्यापार व्यवसाय घाटामा गएको देखिन्छ,’ मैनालीले भने, ‘यसकै कारण मानसिक रूपमा बिछिप्त भएको अवस्था छ ।’
मनोविद् करुणा कुँवर सामूहिक आत्महत्या बिछिप्त मानसिक अवस्थाको कारण हुने गरेको बताउँछिन् । ‘जसले जीवनदेखि हार खान्छ, बाँच्ने संभावना देख्दैन, उ डिप्रेसनको जटिल अवस्था फेस गरिरहेको हुन्छ,’ मनोविद् कुँवर भन्छिन्, ‘यस्तो अवस्थामा मानिसले, मर्नु मात्रै सबैभन्दा उत्तम विकल्प ठान्ने गर्छ ।’
यो विषयमा घरपरिवारमा छलफल हुनुपर्ने, सहयोग हुनुपर्ने उनी बताउँछिन् । अन्नपूर्ण पोस्टमा खबर छ ।