
कोभिड–१९ बाट प्रभावित भई रोजगारी गुमाएका शुक्लाफाँटा नगरपालिकाका साना उद्यमीलाई मशिन र औजार वितरण गरिएको छ ।
एक्ट एलायन्स, एलडब्लूएफ र राष्ट्रिय मुक्त हलिया महासंघ नेपालको संयुक्त साझेदारीमा सञ्चालित कोभिड प्रतिकार्य परियोजनाअन्तर्गत २३ साना उद्यमीलाई मेसिन र औजार वितरण गरिएको हो ।
राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहारका अनुसार ४ छालाजुत्ता व्यवसायी, ९ सिलाइकटाइ पेशामा संलग्न, काठका भाँडा बनाउने कार्यमा संलग्न एक, आरन व्यवसाय सञ्चालन गर्दै आएका ४, खुद्रा पसल सञ्चालक ३, तरकारी व्यवसायी ३ र कुखुरापालक ३ जनालाई मशिन तथा औजार वितरण गरिएको छ ।
‘छालाजुत्ता व्यवसायीलाई आवश्यक औजारसहित छाला, सिलाइकटाइ व्यवसायीलाई मशिन, आरन व्यवसायीलाई मशिन, काठका भाँडा बनाउने कार्यमा संलग्नलाई विद्युतीय मोटर वितरण गरेका छौं,’ उनले भने, ‘खुद्रा पसल, तरकारी पसल र कुखुरा व्यवसायीलाई डिजिटल तराजु वितरण गरिएको छ ।’
प्रत्येक उद्यमी र व्यवसायीलाई १५ हजार मूल्य बराबरका मशिन र सामग्री उपलब्ध गराइएको छ । ‘नगरपालिकाका कोरोना प्रभावित भएका ८४ साना उद्यमीलाई छनोट गरिएकामा पहिलो चरणमा २३ जनालाई मशिन र औजार वितरण गरिएका छौं,’ अध्यक्ष लुहारले भने, ‘छनोटमा परेका अन्य साना उद्यमीलाई केही दिनभित्रै दोस्रो चरणमा मशिन र औजार वितरण गर्छौं ।’
कृष्णपुर नगरपालिका क्षेत्रका ८४ साना उद्यमीलाई समेत मागका आधारमा मशिन र औजार वितरण गरिने उनको भनाइ छ । साना उद्यमीलाई मेसिन र औजार वितरण गर्दै नगर प्रमुख दिलबहादुर ऐरले व्यवसाय सञ्चालन गर्नका लागि आवश्यक तालिम र पूँजी अनुदानका लागि नगरपालिका सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।