
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका प्रभावशाली नेता चन्द्र भण्डारीबीच मूलधारका राजनीतिक दलहरूमा आउन लागेको विचलनबारे छलफल भएको छ ।
शुक्रवार त्रिभुवन विमानस्थलमा भएको जम्काभेटमा भण्डारीले ओलीसमक्ष राजनीतिक दलमा आउन लागेको सैद्धान्तिक विचलनबारे छलफल भएको हो ।
‘नेपालका पार्टीहरू रिमिक्स भए, ओर्जिनालिटी रहेन । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी के का निम्ती लडेका थिए यसको क्लिरिफाइ हुनुपर्थ्यो । केवल सत्ताका लागि रिमिक्स हुने हो भने देशको हित कसले गर्छ भन्ने कुरा मैले राखें । मेरो कुरामा ओलीजीको सहमति थियो,’ भण्डारीले भने ।
जवाफमा ओलीले नेसन (राष्ट्र)को विषयमा एकपटक लामो कुरा गर्नको लागि प्रस्ताव गरेको बताए । ‘चन्द्रजी एकचोटि बसेर डिटेल नेसनको बारेमा कुरा गरौँ न भन्नुभयो, मैले सहमति जनाए,’ ओलीसँगको कुराकानीबारे भण्डारीले भने ।
भण्डारीले त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागबाट ‘नेपालको राष्ट्र, राज्य निर्माण प्रक्रियामा विश्वव्यापीकरणको भूमिका’ विषयमा विद्यावारिधि पूरा गरेका हुन् ।
पार्टी निकट पत्रकारको संगठन प्रेस चौतारीको संगठनको अधिवेशन उद्घाटनका लागि ओली पोखरा जाँदै थिए भने सर्लाहीमा हुने कार्यक्रममा जानको लागि हिँडेका भण्डारीबीच त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा भेटवार्ता भएको थियो ।