१५ असार २०८३, सोमबार

राहदानी लिन खेताला

फागुन २८, २०७८
राहदानी लिन खेताला
तस्वीर सौजन्य : गोरखापत्र दैनिक

 विद्युतीय राहदानी लिनका लागि आम नागरिकले खेताला लगाएर अरूलाई लाम राख्ने गरेको पाइएको छ ।

राहदानी विभागमा राति २ बजेदेखि नै लाम लागेमा मात्र आफ्नो पालो छिटो आउने भन्दै मानिसहरूले पैसा तिरेर अन्य व्यक्तिलाई खेताला स्वरूप लाममा राख्ने गरेको पाइएको हो । अनलाइन फाराम भरेपछि पाएको मितिमा आएर विद्युतीय राहदानीका लागि लाइभ इन्रोलमेन्टमा बस्नुपर्ने हुन्छ ।

यसबीचमा अनलाइन फाराम भरेकाहरूले आवश्यक शुल्क बुझाउने र अनलाइनमा बुझाएको कागजपत्रको सक्कली कागजपत्र रुजु गराउनुपर्ने हुन्छ । यी दुई काम छिटो गर्नकै लागि रातिदेखि नै लाममा बस्न खेतला राख्ने गरेका हुन् । शुक्रबार विभाग परिसरमा आइपुगेका एक युवकले त्यहीँ भेटिएका एक खुद्रा व्यापारीसँग सोधे, “अब कहिले आऊँ ?” खुद्रा व्यापारी युवतीले उनको राजस्व तिर्ने भौचर भर्दै भनिन्, “तपार्इं अब सोमबार दिउँसो आउनुस्, म एकजना मानिसलाई पैसा तिर्ने लाममा राखिदिन्छु, त्यसको एक हजार दुई सय रुपियाँ लाग्छ । राजस्वको पैसा त्यही दिन लिएर आउनुस्, अर्को मान्छे उभिएको ठाउँमा गएर ठाउँ लिएर पैसा तिर्नुस् ।”

त्यसअघि पनि ती युवाले कागजात रुजु गराउनका लागि पनि पैसा तिरेर मान्छे लाममा राखेका थिए । पालो आउने बेलामा भने आफैँ लाममा बसेका थिए । उनले भने, “के गर्ने टाढाबाट आउनुपर्छ, भोकभोकै लाइनमा बस्नुभन्दा अलिकति पैसा माया मारेकै जाती ।” अनलाइन फाराम भर्दा पनि लाइभ इन्रोलमेन्टको मिति दुई महिनापछि मात्र आएको गुनासो उनले पोखे।

अर्का एक युवक आफ्नो मिति धेरै टाढा पुगेको गुनासो तिनै युवतीसँग गर्दै थियो । तिनलाई सुझाउँदै उनले भने, “कुनै म्यानपावरमा गएर कागज बनाएर ल्याउनुस्, त्यसपछि भित्र गएर मिति मिलाउनु पर्छ ।”

रातिदेखि सडकमा लाममा बसेकालाई विभागले बिहान ७ बजेपछि गेट खोलेर भित्र लाममा पसाल्ने गरेको छ । खेतालाको व्यवस्था नजिकका कम्प्युटर पसल, खुद्रा व्यापारी आदिले गरिदिने गरेका छन् । यसबाट केही रकम आफैँ राखेर बाँकी लाममा बस्नेलाई दिने गरेको खुलासा भएको छ ।

यसरी अत्यधिक मानिस त्रिपुरेश्वरस्थित विभाग परिसरमा बिहीबार जम्मा हुँदा प्रहरीले लाठीचार्ज नै गर्नुप¥यो । विद्युतीय राहदानीबाहेक पुरानो राहदानी नवीकरण तथा यात्रा अनुमतिपत्र प्रमाणीकरण आउने पनि उत्तिकै हुन्छन् । खोटाङका रामकुमार रोका राहदानी नवीकरणका लागि आएका थिए । “मेरो एमआरपी पासपोर्टको पाँच महिना मात्र म्याद बाँकी छ, त्यही पनि विद्युतीय राहदानी बनाउन नमिल्ने रै’छ ।”

त्यसैले उनी पाँच महिनाका लागि एमआरपी बनाउन तम्सिएका छन् । विदेश जाने सुरमा रहेका उनी खेताला र भनसुन लगाएरै भए पनि छिटो राहदानी बनाउन कस्सिएका छन् । तर एक सातादेखि काठमाडौँमा रहेर काम गर्दा बल्ल उनले फोटो खिच्न अर्को महिनाको मिति पाएका छन् । कहाँ र कसलाई सोध्ने भनेर भौँतारिरहेका नागरिकहरू यताउता डुल्दै बल्ल सोधपुछ कक्षमा पुग्ने गरेका छन् ।

विभागको नयाँ कार्यालय भएकाले पनि अधिकांश नागरिकका लागि परिसर नौलो छ । धादिङका खुसीराम दाहालको दुई दिनपछि लाइभ इनरोलमेन्टको मिति छ । उहाँले सोधपुछमा पुगेर सोध्नुभयो, “यति लामो लाम छ, लाममा बसेकाले केही बोल्दैनन्, कहाँ गएर पैसा बुझाउने मैले सर ?”

सोधपुछका कर्मचारीले भने, “तपाईं उता हलपट्टि गएर बुझ्नुस् । कैलालीमा पनि विद्युतीय राहदानी वितरण भइसकेको छैन । त्यसैले त्यहाँबाट राहदानी बनाउन आएकी मीना मगरले परिसर आसपासकै कम्प्युटर पसलमा अनलाइन फाराम भरेर मिति लिए। अझै कागजात रुजु र राजस्व बुझाउने झमेलासँगै अर्को महिना फोटो खिच्ने योजना बनाउँदै छिट्टो काम सक्ने उपाय खोज्दै छन् ।

विभागका प्रवक्ता शरदराज अरनले भने आफ्नो समयमा भन्दा पनि पहिल्यै आएर छिटो राहदानी बनाउन खोज्ने प्रवृत्तिले समस्या बढाएको बताए । साथै जिल्लाबाटै बनाउन मिल्ने राहदानीका लागि विभागमै आउने क्रम बढेकाले पनि भीडको समस्या आएको जानकारी दिए।

दुई दिनअघि भीडले अनुशासन कायम राख्न खटिएको प्रहरीमाथि नै हातपात गरेपछि लाठीचार्जको अवस्था आएको उनले बताए ।

बाहिर फैलिएको अनधिकृत विचौलियाका सन्दर्भमा उहाँले कतिपयलाई सजग गराइएको र त्यस्ता गतिविधि हुन नदिन विभागले थप निगरानी बढाएको सुनाए ।

हाल देशका ६० जिल्लाबाट राहदानी लिन मिल्छ । तर जिल्लास्थित निकायले काममा त्यति ध्यान नदिइएको पाइएको विभागले जनाएको छ । आफ्नो पालो भएको दिन आएर शुल्क तिर्न र कागज रुजु गर्न सकिने भएकाले अन्य दिनमा भीडभाड नगर्न उनले सेवाग्राहीसँग अनुरोध दोहो-याए । गोरखापत्र दैनिकमा चाँदनी हमालले खबर लेखेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्