विवाह भएको चार वर्षपछि सन्तान जन्मँदा कैलाली, भजनी-४ का खुशीराम चौधरी खुसी थिए। तर, क्षणभरमै अँध्यारो अनुहार लगाए । चिकित्सकले नवजात शिशुको आँखामा समस्या भएको बताउँदा छाँगाबाट खसेझै भए।
धनगढीस्थित सेती अञ्चल अस्पतालको शय्यामा रहेकी सुत्केरी पार्वतीलाई प्रसवको घाउभन्दा छोराको आँखाले पिरोल्यो। चौधरी दम्पतीले खुसी खोसिएको महसुस गरे। 'के भएको भन्ने थाहा थिएन । डाक्टरहरूलेत जन्मनेबेला दिसा सेवन गरेर हो कि भन्ने शंका गरे।' शल्यक्रिया गरेका सात महिने शिशु आयाम्सलाई पुलुक्क हेर्दै उनले भने, 'छोरालाई जलबिन्दु भएको काठमाडौं ल्याएर मात्रै थाहा पाएँ।' उनको अहिले तीलगंगा आँखा प्रतिष्ठानमा शल्यक्रिया भएको छ।
भजनी-५, कैलालीका नौ महिने चिरञ्जीवीको जन्मनेबित्तिकै बायाँ आँखामा सेतो देखियो। 'छोरोले जन्मने क्रममा दिसा खाएकोले आँखामा सेतो भएको डाक्टरले बताएका थिए। हामीलाई त के थाहा र?' ३० वर्षीय प्रेम बुढाले अन्नपूर्णसँग भने, 'दिसा खाएका कारण संक्रमण भई देब्रे आँखामा सेतो देखिएको शंका डाक्टरले गर्नुभयो।' तीन दिनपछि गेटा आँखा अस्पतालमा लगियो। त्यहाँका चिकित्सकले जलबिन्दु भएको शंका गरे। उपचार भइरहेको छ।
जलबिन्दु भएका शिशुसँगै भेटिए ३४ वर्षीय साड्दे शेर्पा। गौरीशंकर-४, दोलखाका शेर्पा जलबिन्दुको शल्यक्रियापछि फलोअपका लागि पुगेका रहेछन। 'विद्यार्थीलाई पढाउँदा आँसु आउँथ्यो। बायाँ आँखाले काम नगरे जस्तो लाग्दै गयो। मोटरसाइकल चलाउँदा अप्ठ्यारो भयो। पछि जचाउँदा जलबिन्दु भएको पत्ता लाग्यो।' ३४ वर्षीय शेर्पाले भने, 'विश्वास लागेन। तीन ठाउँमा गएर आँखा जचाए। सबै ठाउँमा जलबिन्दु भनेपछि विश्वास नगरी सुखै पाइएन । शल्यक्रिया पनि गरें।' ___ जलबिन्दुका बिरामीको भीडमा थिए ललितपुर, सातदोबाटोका ६९ वर्षीय मंगल महर्जन । 'जलबिन्दु भएको दुईवर्ष भयो। आँखामा औषधि हालिरहेको छ । उमरेका कारण पनि अप्रेसन गरेको छैन ।' उनले भने, 'प्रतिष्ठानकी जलबिन्दु विशेषज्ञ डा. इन्दिरा पौडेल (रूपाखेती) लाई जलबिन्दुका बिरामीको आँखा जाँच गर्दैमा भ्याइनभ्याइ छ । 'जुनसुकै उमेरका व्यक्तिलाई पनि जलबिन्दु हुन सक्छ,' उनले भनिन् ।
तिलगंगा आँखा प्रतिष्ठानअन्तर्गत नेपाल जलबिन्दु आँखा क्लिनिकले जलबिन्दु रोगसम्बन्धी चेतना जगाउन सञ्चालित जलबिन्दु सचेतना सप्ताहमा आएका बिरामीको भीड छ।
सुन्दर संसार हेर्नको निम्ति आफ्नो दृष्टि जोगाउनुहोस् भन्ने नाराका साथ जाँच तथा उपचार उपलब्ध गराउने उद्देश्यले सप्ताह चलिरहेको छ। प्रतिष्ठानकी वरिष्ठ जनसम्पर्क अधिकृत सुनिता केसीका अनुसार, मुलुकका विभिन्न क्षेत्रबाट आएका नयाँ तथा पुरानो गरेर बिरामीको जाँच तथा उपचार प्रदान गरिनेछ। साथै जलबिन्दुसम्बन्धी विभिन्न जानकारी तथा परामर्श प्रदान गरिनेछ।
सन् २००४ देखि सुरु भएको यस साताव्यापी सचेतना कार्यक्रममा अहिलेसम्म करिब ६ हजार सेवाग्राहीले सेवा लिइसकेको केसीले बताइन् । अन्नपूर्ण पोस्टमा दिनेश गौतमले खबर लेखेका छन् ।