२७ जेठ २०८३, बुधबार

खेलकुदका माध्यमबाट पर्यटन प्रवद्र्धन गरिनु सकारात्मक पक्ष हो : मुख्यमन्त्री पोखरेल

फागुन २८, २०७८
खेलकुदका माध्यमबाट पर्यटन प्रवद्र्धन गरिनु सकारात्मक पक्ष हो : मुख्यमन्त्री पोखरेल
फाइल फोटो

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऐतिहासिक २ स्थललाई जोड्ने गरी व्यास नगरपालिकाले दूरदर्शिता कायम गरेको बताएका छन् ।

व्यास नगरपालिका–५ मानुङकोटदेखि व्यास–८ पुलिमराङसम्मको ४४ किलोमिटरको नगरपालिकाद्वारा शनिवार आयोजित अल्ट्रा म्याराथनको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले मानुङकोटबाट शहीदग्राम पुलिमराङलाई खेलकुदका माध्यमबाट परिचित गराउन म्याराथनले महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे ।

गण्डकी प्रदेश सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्दै खेलकुदका माध्यमबाट पर्यटन प्रवद्र्धन गरिनु सकारात्मक पक्ष भएको उनले बताए । खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बर्सेनि म्याराथनलाई प्राथमिकता राखिँदै आइएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

नगरपालिकाले खेलकुदकै लागि २२ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए । नगर प्रमुख न्यौपानेले मानुङकोटमा पानीको चरम समस्या रहेकाले गण्डकी प्रदेश सरकारको सहयोगको अपेक्षा गरे ।

उपप्रमुख मीरा जोशी, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, व्यास–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठ लगायतका वक्ताले व्यास नगरपालिकाले दीर्घकालीन सोचका साथ पर्यटन प्रवद्र्धन गर्न म्याराथनको आयोजना गरेको बताए । यससँगै पाँचौं व्यासनगर अल्टा म्याराथन २०७८ आयोजना गरिएको हो ।

हरेक नयाँ वर्षको पछिल्लो अंकलाई पुरस्कारको राशिमा समेट्ने परम्परालाई कायम राख्दै यस वर्ष प्रथम पुरस्कार ८५ हजार ७८, द्वितीय ६५ हजार ७८, तृतीया ५५ हजार ७८ र सान्त्वना पुरस्कार ५ जनालाई जनही १६ हजार ७८ रुपैयाँका दरले प्रदान गरिने छ ।

म्याराथनको सम्पूर्ण धावन रुट यथावत कायम रहने गरी धावनमार्गमा विभिन्न ८ स्थानमा चेकप्वाइन्टको व्यवस्था गरिएको छ । म्याराथनमा १७३ जना धावकले सहभागिता जनाएको रेस डाइरेक्टर रमेशबहादुर भट्टचनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्