
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आगामी चुनावमा जित हात पार्न गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।
तनहुँको व्यास नगरपालिकाले शनिवार गरेको व्यास नगर अल्ट्रा म्याराथनको समापन कार्यक्रममा उनले गठबन्धनको संस्कृतिलाई परिस्कृत गर्दै लैजान सके मुलुकमा राजनीतिक स्थायित्व कायम हुने बताएका हुन् ।
व्यास नगरपालिका–५ मानुङकोटबाट शुरू भएको अल्ट्रा म्याराथन ४४ किलोमिटर दूरी पार गर्दै व्यास नगरपालिका–८, पुलिमराङमा समापन भएको हो ।
‘हामीमा गठबन्धन संस्कृति नभएका कारण असजिलो लागेको हो, अहिले गठबन्धनकै सरकार बनेको छ, राष्ट्रिय सभाको चुनावमा हामीले त्यो अभ्यास गरिसकेका छौं, आगामी चुनावमा पनि मिलेरै जानुपर्ने हुन्छ ।’
छिमेकी मुलुक भारतमा मनमोहन सिंहले २ पटकसम्म गठबन्धन सरकारकै नेतृत्व गरेको स्मरण गर्दै उनले नेपालका दलहरूले पनि त्यसको अनुशरण गर्नुपर्ने बताए ।
आर्मीका वेदबहादुरलाई उपाधि

व्यास नगरपालिकाले बर्सेनि गर्दै आएको व्यास नगर अल्ट्रा म्याराथनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका वेदबहादुर सुनुवारले हात पारेका छन् ।
पाँचौं संस्करणको म्याराथनमा सुनुवारले मानुङकोटबाट पुलिमराङसम्मको ४४ किलोमिटर दुरी २ घन्टा ५८ मिनेट ७ सेकेन्डमा पूरा गरेका हुन् ।
नेपाली सेनाकै मोहनदेव जोशी ३ घन्टा ५ मिनेट ५० सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो र सेनाकै नवराज साउद ३ घन्टा ९ मिनेटमा दूरी पार गरी तेस्रो भए । सुमन कुलुङ, प्रमिश गुरुङ, दुर्गाबहादुर बुढा, शेरबहादुर थारु र गोपाल तामाङ सान्त्वना भए ।
आयोजक व्यास नगरपालिकाका मेयर वैकुन्ठ न्यौपानेका अनुसार विजेताले ८५ हजार ७८, ६५ हजार ७८ रूपैयाँ पुरस्कार पाएका छन् ।
यसैगरी, दोस्रोले ५५ हजार ७८ तथा तेस्रोले १६ हजार ७८ नगद पुरस्कार प्राप्त गरेका छन् । म्याराथनमा १७३ जना धावक सहभागी थिए ।