०३ असार २०८३, बुधबार

'गेस्ट इन लन्डन' फिल्म समीक्षा : यस्तो पनि कमेडी हुन्छ ?

कात्तिक २०, २०७४
'गेस्ट इन लन्डन' फिल्म समीक्षा : यस्तो पनि कमेडी हुन्छ ?


फिल्म : गेस्ट इन लन्डन (हिन्दी)

कलाकार : कार्तिक आर्यन, कीर्ति खरबन्दा, परेश रावल, तन्वी आज्मी
निर्देशक : अश्विनी धीर
विधा : कमेडी
समय : दुई घन्टा १८ मिनेट
स्टार : १/५

नयाँ कलाकार कार्तिक आर्यन र कीर्ति खरबन्दा अनि स्थापित कलाकार परेश रावल र तन्वी आज्मीको कमेडी फिल्म गेस्ट इन लन्डनले दर्शकलाई खासै हँसाउन सकेको छैन ।

फिल्मको कथाको सेटिङ लन्डनमा छ । कार्तिक र कीर्ति लन्डनको एक अपार्टमेन्टमा सँगै बस्छन् । कार्तिकले कीर्तिसँग झुटो विवाह गरेर बेलायतमा सेटल हुने योजना बनाएको छ । प्रक्रिया मिल्नै लाग्दा उनीहरूकहाँ गाउँले आइपुग्छन् । कुनै निमन्त्रणाविना नै गंगाशरण गन्दोत्रा (परेश रावल) र उनकी पत्नी गुड्डी (तन्वी आज्मी) ढिम्किन्छन् । यी अतिथिहरूलाई घरबाट भगाउन कार्तिक र कीर्तिले गर्नुपरेको संघर्ष नै फिल्मको कथानक हो ।

परेश रावलको पुरानो फिल्म अतिथि तुम कब जाओगे जस्तै कथा यो फिल्मको पनि छ । अजय देवगण र कोंकणा सेन शर्माले अभिनय गरेको उक्त फिल्ममा रमाइला क्षणहरू भएपनि अश्विन धीरको गेस्ट इन लन्डनमा हाँसो लाग्ने क्षण नै छैनन् । फिल्मको प्लटमा धेरै समस्या छन् र कलाकारहरूलाई एकपछि अर्को खराब जोक बोल्न लगाइएको छ ।

फिल्ममा परेश रावल प्रायः पादिरहेका हुन्छन् अनि एउटा सिनमा त उनको पात्रले एक चिनियाँ युवतीमाथि असाध्यै भद्दा कमेन्ट गर्छन् । कथा लेख्नेहरूको दिमागको स्तर यसैबाट झल्किन्छ ।

फिल्ममा नयाँ कलाकार कार्तिक र कीर्ति रनभुल्लमा परेका देखिन्छन् । उनीहरूबीचको रोमान्स पनि ठन्डा खालको छ । परेश रावल र तन्वी आज्मी जस्ता उम्दा कलाकारले आफ्ना अभिनय क्षमता देखाउनै पाएका छैनन् । अजय देवगणले फिल्ममा क्यामियो गरेका छन् तर यो फिल्मलाई डुब्नबाट उनले पनि बचाउन सक्दैनन् ।

सुधीर चौधरीको छायांकन र मनन सागरको सम्पादनमा कुनै नयाँपन छैन । दुई घन्टा १८ मिनेट लामो फिल्मले दर्शकको धैर्यको परीक्षा नै लिन्छ ।

फिल्मको संगीत पनि औसत छ र कुनै पनि गीत यादगार छैनन् ।

एक वाक्यमा भन्नुपर्दा फिल्मबाट एक कोश पर बस्नुमै भलो छ ।

salt training

कमेन्ट गर्नुहोस्