
निक्षेप थपिने क्रम सुस्ताएपछि वाणिज्य बैङ्कले कर्जा प्रवाहमा नियन्त्रण गर्न थालेका छन् ।
कर्जा लगानी घट्दा निक्षेप भने बढी देखिएको छ । माघ र फागुन दुई महिनाको तथ्याङ्कमा समग्र वाणिज्य बैङ्कले कर्जा प्रवाहमा सङ्कुचन ल्याउँदा २१ अर्ब रुपैयाँभन्दा बढीले निक्षेप बढेको देखिएको छ ।
कर्जाको वृद्धि साढे १७ अर्ब रुपियाँको हाराहारीमा रहेको छ ।
यसअघि वाणिज्य बैङ्कले निक्षेप सङ्कलनभन्दा अधिक कर्जा लगानी गर्दै आएका थिए । विगतका महिनामा निक्षेप सङ्कलन सुस्त भए पनि कर्जा लगानी बढाउँदै आएका वाणिज्य बैङ्कले फागुनमा भने कर्जा घटाएका हुन् ।
वाणिज्य बैङ्कमा फागुनको अन्तिम साता मात्रै सात अर्ब रुपियाँ निक्षेप थपिँदा तीन अर्ब रुपियाँ मात्र कर्जा लगानी गरेका छन् ।
नियामक नेपाल राष्ट्र बैङ्कको आयातमा कडाइको नीतिका कारण बैङ्कले विदेशी मुद्राको कर्जा नियन्त्रण गर्दा फागुन लागेयता विदेशी मुद्राको कर्जा निरन्तर घटिरहेको छ ।
राष्ट्र बैङ्कले केही वस्तुको एलसी खोल्दा ५० देखि शतप्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेपछि वाणिज्य बैङ्कमा निक्षेप बढ्न थालेको छ । गोरखापत्र दैनिकमा भेषराज बेल्बासेले खबर लेखेका छन् ।