
मधेस प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झालाई 'महामूर्ख’ घोषणा गरिएको छ ।
प्रत्येक वर्ष जनकपुरधाममा मनाइने होली विशेष कार्यक्रम 'महामूर्ख सम्मेलन’मा समाजमा विभिन्न तवरले योगदान पुर्याइरहेका व्यक्तित्वलाई मूर्ख तथा महामूर्ख घोषित गर्दै आएकोमा यस वर्ष भने नीति तथा योजना आयोगका उपाध्यक्ष डा. झालाई महामूर्ख घोषण गरिएको हो ।
मधेसको राजधानी जनकपुरधाममा शुक्रबार मिथिला नाट्यकला परिषदद्वारा आयोजित दुई दिने होली विशेष कार्यक्रमअन्तर्गत महामूर्ख सम्मेलन– २०७८ को महामूर्खको उपाधि डा. झालाई प्रदान गरिएको छ ।
मिनापले होली महोत्सव तथा महामूर्ख सम्मेलनमा १० जनादेखि १७ जनासम्मलाई मूर्खको उपाधि दिने गरेको छ । मूर्ख तथा महामूर्खका लागि छनोट भएकामध्ये ११ जनाले मूर्ख तथा एक जनाले महामूर्खको उपाधि पाएका छन् ।
मूर्ख तथा महामूर्खलाई सम्मान पत्र, मिथिला चित्रकला, फूल तथा विभिन्न तरकारी मिश्रित माला तथा दोसल्ला ओढाएर सम्मानित गरिएको थियो । गोरखापत्र दैनिकमा लक्ष्मी चौधरीले खबर लेखेकी छन् ।