
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगले उम्मेदवारको मनोनयन दुई दिन राख्न लागेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।
झलनाथ खनालको निर्वाचन क्षेत्र इलामको फिक्कलमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले गठबन्धनको खटपट मिलाउन दुई दिन उम्मेदवार मनोनयन राख्न खोजेको आरोप लगाए ।
‘निर्वाचनमा उम्मेदवार मनोनयन जहिले पनि एक दिन मात्रै हुन्छ । तर, यस पटक वैशाख ११ र १२ गते राख्न लागिएको रहेछ,’ ओलीले भने, ‘पाँच दलीय गठबन्धनमा कुरा नमिलेर उत्पन्न हुने खटपट मिलाउन दुई दिन राखिएको हो ?’
दुनियाँभर उम्मेदवार मनोनयन एकै दिन हुने भए पनि यसपटक निर्वाचन आयोगले किन दुई दिन मनोनयनको समय तोकेको भनेर ओलीले प्रश्न गरेका छन् ।
जनसभालाई सम्बोधन गर्दै ओलीले एमालेको वैचारिक क्षमता, विकास, सुशासन, भ्रष्टचार विरोधी नीतिलाई देखेर केही शक्तिहरू आतंकित भएको र एमाले नेतृत्वको सरकार ढाल्न लागिपरेको बताए ।