०२ असार २०८३, मंगलबार

बन्द भएका वायुसेवाबाट नौ करोड उठ्न बाँकी

चैत ७, २०७८
बन्द भएका वायुसेवाबाट नौ करोड उठ्न बाँकी
तस्वीर सौजन्य : गोरखापत्र दैनिक

सञ्चालनमा नरहेका वायुसेवा प्रदायक कम्पनीलाई बक्यौता रकम बुझाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले फेरि ताकेता गरेको छ ।

प्राधिकरणले  चौथो  पटक  आइतबार  सार्वजनिक  सूचना जारी गर्दै बक्यौता रकम बुझाउन निर्देशन दिएको हो ।

यसअघि २०७६ असोज ७ गते पहिलो पटक बक्यौता बुझाउन ती सेवा प्रदायकलाई  प्राधिकरणले  सार्वजनिक  गरेको  थियो ।  

त्यसपछि २०७७ माघ २६ गते र २०७८ भदौ १२ गतेसमेत बक्यौताका लागि  प्राधिकरणले  ताकेता  गरेको  थियो ।

 यद्यपि  तोकिएको समयभित्र  पनि  बक्यौता  नबुझाएपछि  प्राधिकरणले  आइतबार पनि सार्वजनिक सूचना जारी गरेको हो ।

प्राधिकरणका  अनुसार  सञ्चालनमा  नरहेका  विभिन्न सातवटा सेवा प्रदायकले नौ करोड १६ लाख ९९ हजार १७६ रुपियाँ  बक्यौता  बुझाउन  बाँकी  छ  जसमध्ये  नेकोन  एयरले सबैभन्दा  धेरै  चार  करोड  ७२  लाख  २५  हजार  ३४३  रुपियाँ बक्यौता  बुझाउनुपर्ने  प्राधिकरणको  तथ्याङ्क  छ ।  

त्यसपछि कस्मिक एयरको तीन करोड ४७ लाख ५८ हजार ७० रुपियाँ बक्यौता  छ  भने  शिवानी  एयरले  ५५  लाख  ५१  हजार  ५३, गोरखा एयरले २० लाख ३५ हजार २९, माउन्टेन एयरले छ लाख १०  हजार  ८३४,  स्काइलाइन  एयरवेजले  सात  लाख  ८०  हजार ४०० र एयर काष्ठमण्डपले सात लाख ३८ हजार ४४७ रुपियाँ बक्यौता बुझाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले  बक्यौता  बाँकी  रहेका  सबै  वायुसेवा प्रदायकलाई सात दिनभित्र प्राधिकरणको बैङ्क खातामा रकम मौज्दात गर्न र त्यसरी बुझाएको सक्कल भौचर प्राधिकरणको कार्यालयमा बुझाउन निर्देशन दिएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्