
मोरङको लेटाङ नगरपालिका वडा नम्बर ५ मा आइतवार आक्रोशित समूहको खुकुरी प्रहारबाट मृत्यु भएकी प्रहरी जवान उर्मिला श्रेष्ठ परिवारकी एक्ली छोरी भएको खुलेको छ ।
लोकसेवा आयोगको परीक्षामा असफल भएपछि उनले ३ वर्षअघि प्रहरी जवानमा जागिर खाएकी थिइन् ।
मृतक उर्मिलाका मामाका छोरा विष्णु श्रेष्ठका अनुसार उनका दाजु पनि प्रहरी सेवामै छन् । दाजु भुवन असई पदमा मोरङमा कार्यरत छन् ।
खोटाङ माइती घर भएकी उर्मिलाको विवाह उदयपुरमा भएको विष्णुले बताए । उनको विवाह भएको लामो समय भएको छैन ।
श्रीमान् पनि प्रहरी सेवामै कार्यरत रहेको विष्णुले बताए ।
इलाममा कार्यरत उनी श्रीमतीको मृत्युको खबरपछि राति नै विराटनगर आइपुगेका छन् ।
बहिनीको मृत्युपछि दाजु भुवन अर्थचेत अवस्थामा रहेको उनका सहकर्मीहरूले जनाएका छन् ।
उर्मिलाका बुवाआमा छोरीको अन्तिम संस्कारका लागि विराटनगर आउँदै छन् ।
उनको शव कोशी अस्पतालमा राखिएको छ ।
मृतकका परिवार शोकमग्न अवस्थामा कोशी अस्पतालमा भेला भएका छन् ।
कोही पनि बोल्न सक्ने अवस्थामा देखिन्नन् ।
लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत १४ वर्षीया छात्रालाई शुक्रवार यौन दुव्र्यवहार गरेको घटना सार्वजनिक भएसँगै दिउँसो १ बजेतिर आक्रोशित गाउँलेले विद्यालय घेरेका थिए ।
आक्रोशित भीडले आरोपी शिक्षकलाई विद्यालयबाहिर निकालेर कुटपिट गर्न खोजेपछि अवस्था नियन्त्रण बाहिर गएको थियो ।
विद्यालय तनावग्रस्त बनेपछि प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको थप टोली सुरक्षाका लागि त्यहाँ पुगेको थियो ।
स्थानीय जनप्रतिनिधि पनि विद्यालय प्रवेश गरेको समयमा आक्रोशित भीडले विद्यालयमा तीनवटा मोटरसाइकलमा आगजनी गरेको थियो ।
त्यसक्रममा भएको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठलाई प्रदर्शनकारीले खुकुरी प्रहर गरेका थिए ।
उनलाई तत्काल उपचारका लागि कोशी अस्पताल लगिए पनि आइतवार राति १०ः५० बजे अस्पतालले मृत घोषित गरेको प्रदेश प्रहरी कार्यालयका एसपी नवीन राईले बताए ।
घटनामा २९ प्रहरी र ७ आन्दोलनकारी घाइते भएका छन् ।
उनीहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
घटनामा मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जीसीसहित समेत घाइते भएका थिए । उनको छाती र हातमा चोट लागेको छ ।
लेटाङमा सोमवार बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरिएको छ ।
अर्काे निर्णय नभएसम्मलाई कर्फ्यु घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले बताए ।