
निर्वाचन आयोगले मशिन मर्मत गर्न डेढ करोड रकम आवश्यक पर्ने भएकाले निर्वाचन सामग्री अन्यत्र छपाउन लगाएको प्रष्ट पारेको छ ।
'मेसिन जडान गर्दा चाहिएको प्राविधिक जनशक्तिसमेत अहिले हामीसँग छैन,' निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले भने, 'त्यसबाहेक ५ वर्षमा एक पटक मात्र प्रयोग हुने हुँदा मर्मत गर्दा पनि डेढ करोड रकम अहिले आवश्यक पर्ने भएकाले बाहिर छपाउन लागिएको हो ।'
आयोगले निर्वाचन सामग्री छपाउन विगतको स्थानीय तह निर्वाचनमा २१ करोडको लागतमा दुई वटा मशिन खरिद गरेको थियो । तर, अहिले उक्त मशिनको मर्मत खर्चसहित आवश्यक जनशक्ति आउटसोर्सिङ गर्दा लाग्ने लागतभन्दा बढी प्रभावकारी बाहिर छपाउँदा हुने निष्कर्ष निकालिएको उनको भनाइ छ ।
'उक्त मशिनबाट काम नै नभएको होइन, राष्ट्रिय सभाको पहिलो पटक सम्पन्न निर्वाचनमा १० हजार मतपत्र छापिएको थियो,' प्रवक्ता पौडेलले भने,'त्यसबाहेक विभिन्न समयमा आयोगको ब्रोसर, पर्चा, पम्प्लेटसहितका सामग्रीहरू छापिएको थियो ।'
उक्त मशिन जनक शिक्षा सामग्री, मुद्रण विभाग, प्रज्ञा प्रतिष्ठान वा अन्य कुनै संस्थालाई हस्तान्तरण गरिने उनले बताए ।
'निर्वाचन आयोगलाई आवश्यक पर्ने सामग्री छाप्नका लागि निःशुल्क वा नाम मात्रको शुल्क लिएर छापिदिने शर्तमा उक्त मशिन हस्तान्तरण गर्ने आयोगको तयारी छ,' पौडेलले भने ।