
युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीलाई रुसको आक्रमण शुरू भएदेखि सधैं एउटै खालको टीशर्टमा देखिने गरिएको छ ।
भिडियो सम्बोधन गर्दा उनले सधैं हरियो टीशर्ट लगाएको देखिन्छ । उक्त हाफ टीशर्टमा उनले क्रसको प्रतीक पनि जडेको पाइन्छ ।
युद्धको बेलामा फरक फरक वस्त्र लगाउँदा नराम्रो सन्देश जान सक्ने भएकाले उनले एउटै खाले टीशर्ट लगाएका हुन सक्छन् । युद्धको पीडामा परेका मानिसलाई बाँच्न नै धौधौ परेको बेलामा राष्ट्रपतिले लुगा फेरिरहँदा सकारात्मक सन्देश जाँदैन ।
युक्रेनको झण्डामा नीलो र सुनौलो रंग छ जसले पानी र आगोलाई प्रतीक बनाउँछ । हरियो रंग चाहिँ युक्रेनको इतिहाससँग जोडिएको छ ।
रुसको सुदूरपूर्व भागमा रहेको आमुर नदी र प्रशान्त महासागरको बीचको भागलाई जेलेनी क्लीन अर्थात् हरियो युक्रेन भन्ने गरिन्थ्यो । सन् १९१७ मा उक्त क्षेत्रमा हरियो युक्रेन निर्माण गरिएको थियो तर सन् १९२२ मा त्यसलाई भंग गरियो ।
माथि उल्लेख गरिएअनुसार, युक्रेनी भाषामा हरियोलाई जेलेनी भनिन्छ । जेलेन्स्कीको नाम पनि जेलेनी जस्तै सुनिने भएकाले उनले हरियो रंगको वस्त्र लगाएका हुन सक्छन् ।
त्यसो त रुसी प्रोपागान्डा फैलाउने कतिपयले जेलेन्स्की किएभमा नभई पोल्यान्डमा बसिरहेको अनि त्यहाँ ग्रीन स्क्रीन राखेर आफू किएभमा रहेको भ्रम छर्ने गरेको बताउने गर्छन् । तर यसलाई पुष्टि गर्न असम्भव छ ।
अनि जेलेन्स्कीको हरियो टीशर्टमा रहेको क्रसका विषयमा पनि धेरै किसिमका अनुमानहरू गरिएका छन् ।
केही व्यक्तिले उक्त क्रस नाजी प्रतीक भएको समेत बताएका छन् ।
उनले लगाएको आइरन क्रसमा युक्रेनको निशाना छाप केन्द्रमा छ । त्यसमा युक्रेनी स्थलसेना, वायुसेना, जलसेना, हवाई आक्रमण बल तथा स्पेसल अपरेसन्स फोर्सको निशान छ ।
त्यसैले यसलाई नाजी प्रतीकका रूपमा लिन नमिल्ने कतिपय बताउँछन् । तर जर्मन तानाशाह एडोल्फ हिटलरले दोस्रो विश्वयुद्धताका आइरन क्रसको बीच भागमा स्वस्तिक राख्ने गरेकाले आइरन क्रस बदनाम चाहिँ छ ।
युक्रेनमा पनि उग्रदक्षिणपन्थी र नवनाजी प्रभाव सेनामा निकै घनीभूत छ । आजोभ बटालियन र एस१४ समूहले खुला रूपमा नाजी विचारधारा अपनाउने गरेका छन् ।
त्यसो त जेलेन्स्कीको हरियो टीशर्टमा आइरन क्रस बाहेक अन्य निशाना पनि देख्ने गरिएको छ ।
अनि कुनै निशान नभएको सादा टीशर्टमा पनि उनलाई देखिन्छ ।
कहिलेकाहीँ उनलाई टीशर्टमाथि हरियो ज्याकेट लगाएको पनि देखिन्छ ।

