
नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाले पार्टी एक ढिक्का भएर चुनावमा जाँदा अरूसँग मिल्नै नपर्ने बताएका छन् ।
विराटनगरमा मङ्गलबार नेपाली काँग्रेसको चुनावी गीत सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै नेता कोइरालाले आन्तरिक एकता बलियो बनाएर चुनावमा गए गठबन्धन आवश्यक नपर्ने र ७५३ वटै स्थानीय तहमा जित हासिल गर्ने अवस्था रहेको बताएका हुन् ।
“मैले त महाधिवेशनको तिक्तता त्यागी सकें, हामी एकतावद्ध भए हामीलाई कुनै पनि शक्तिले हराउन सक्दैन,” नेता कोइरालाले भने ।
गठबन्धन गरेर जाँदा काँग्रेस कमजोर हुने जिकिर गर्दै उनले भने,“कम्युनिष्टहरूसँग गठबन्धन गर्दा हाम्रो सिद्धान्त कमजोर हुन्छ । हाम्रो विचार कमजोर हुन्छ भन्ने कुरा भरतपुरले प्रमाणित गरेको छ, भरतपुरमा रेणु दाहाललाई जिताएको कारण त्यहाँ अहिलेसम्म काँग्रेस एकतावद्ध भएर अगाडि बढ्न सकेको अवस्था छैन ।”
“देशका विभिन्न जिल्लाका साथीहरूसँग फोनमा, भेटघाटका क्रममा कुराकानी हुन्छ । उहाँहरूको कुरा गठबन्धन गरेर जान हुँदैन भन्ने छ । गठबन्धनले नेपाली काँग्रेसलाई फाइदा गर्दैन भन्ने कुरा छ,” कोइरालाले भने। गोरखापत्र दैनिकमा खबर छ ।