
पश्चिमाञ्चल क्षेत्रका एलपी ग्यास, पेट्रोलियम ट्यांकर व्यवसायीले राष्ट्रिय पेट्रोलियम व्यवसायी संस्थागत समन्वय समितिले नेपाल आयल निगम केन्द्रीय कार्यालयसमक्ष प्रस्तुत गरेका माग पूरा गराउन घोषणा गरेका आन्दोलनका कार्यक्रमलाई सशक्त बनाउने भएका छन् ।
नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनका सचिव तथा आन्दोलन परिचालन समितिका संयोजक हिमाल गैरेको समन्वयमा पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनको सभाहलमा बुधवार आयोजित छलफल कार्यक्रममा सहभागी ग्याँस, पेट्रोलियम र ट्यांकर व्यवसायीले माग पूरा गराउन आन्दोलनका कार्यक्रमलाई प्रभावकारी र सशक्त बनाउने प्रतिबद्धता जनाएका हुन् ।
छलफल कार्यक्रममा राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले आयल निगमसमक्ष प्रस्तुत गरेका विभिन्न ६ बुँदे माग र आन्दोलनका कार्यक्रमप्रति लुम्बिनी प्रदेश ग्यास उद्योग समन्वय समिति, पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन र पश्चिमाञ्चल ट्यांकर व्यवसायी संघले ऐक्यवद्धता जनाउँदै माग पूरा नभएसम्म ग्यास तथा पेट्रोलियम पदार्थको बिक्रीवितरण तथा ढुवानी पूर्णरूपले बन्द गर्ने निर्णय गरेका छन् ।
ट्यांकर व्यवसायी संघका सहमहासचिव प्रेम घर्ती मगर लगायतले बोल्दै समन्वय समितिले प्रस्तुत गरेका मागहरू यथाशीघ्र सम्बोधन गर्न आग्रह गर्दै माग पूरा नभए आन्दोलनका कार्यक्रम सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाए ।
राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले निगमसमक्ष तत्काल पेट्रोलियम ऐन बनाई लागू गर्नुपर्ने लगायतका ६ बुँदे माग पत्र प्रस्तुत गरेको छ ।
आयल निगमको एलपीजी र बिक्रेता विनियमावली तथा ढुवानी नियमावली सम्बन्धित व्यवसायी संस्थाका प्रतिनिधि सहितको सहभागितामा परिमार्जन र संशोधन गर्नुपर्ने, यातायात क्षेत्रमा लागू गरेको वैज्ञानिक भाडादर अनुसार पेट्रोलियम ढुवानी साधनमा समेत लागू गर्न निगमद्वारा गठित अध्ययन समितिको प्रतिवेदन अनुसार यथाशीघ्र लागू गर्न माग गरेको छ ।
पेट्रोलियम बिक्रेताले प्रतिशतमा पाउँदै आएको कमिशन स्थगन गरिएकाले स्थगन गरिएकै मितिदेखि लागू हुने गरी साविकको व्यवस्था अनुसार कायम गर्न तथा पेट्रोलियम बिक्रेताले प्राप्त गर्नुपर्ने प्राविधिक नोक्सानी नापतौल तथा गुणस्तर विभागका महानिर्देशकको संयोजकत्वमा गठित अध्ययन समितिको प्रतिवेदन अनुसार लागू गर्नुपर्ने लगायत माग गरिएको छ ।
समन्वय समितिले निगमसमक्ष प्रस्तुत गरेका माग पूरा गराउन विभिन्न आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ । जसअनुसार चैत ५–१५ गतेसम्म स्थानीय स्तरका पेट्रोलियम, एलपी ढुवानी व्यवसायी संघ संस्थाका प्रतिनिनिधि सम्मिलित आन्दोलन समिति गठन, उपभोक्ता, पत्रकार, स्थानीय प्रशासन, मजदुर संघसंस्था एवं सरोकारवालासँग समन्वय गरी अन्तर्क्रिया र प्रचारप्रसार गर्ने, चैत ६ गतेबाट एलपी ग्यास उद्योगले आयल निगमबाट पीडीयो खरिद नगर्ने र चैत १० गतेबाट सम्पूर्ण एलपी ग्यास उद्योगले भारतका सबै रिफाइनरीबाट ग्यास लोड बन्द गर्ने कार्यक्रम छ ।
चैत १४ गतेबाट ग्यास उद्योगले सबै नाकाबाट भन्सार छुटाउने कार्य नगर्ने, चैत १६ गतेबाट राज्यभरका पेट्रोलियम पदार्थको ढुवानी ट्यांकरले पीडीयो नलिने, चैत १७ गतेबाट ग्यास उद्योगले बिक्रेतालाई बिक्रीवितरण बन्द गर्ने तथा चैैत १८ गतेबाट पेट्रोलियम ढुवानी ट्यांकरले लोडिङ/अनलोडिङ बन्द गर्ने र बिक्रेताले निगमको डिपोबाट पेट्रोलियम पदार्थको खरिद बन्द गर्ने कार्यक्रम छ ।
समन्वय समितिले प्रस्तुत गरेका माग पूरा नभएसम्म चैत २० गतेबाट देशव्यापी रूपमा एलपी ग्यास उद्योग र ग्यास बिक्रेताले ग्यास, पेट्रोलियम ढुवानी ट्यांकरहरूले ढुवानी तथा पेट्रोलियम बिक्रेताले बिक्रीस्थल एवं पेट्रोलियम पदार्थको बिक्री वितरण बन्द गर्ने लगायतका आन्दोलनका कार्यक्रम छन् ।