
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आध्यात्मिक चिन्तनमा लागेपछि मात्र मानिसलाई जीवनको महत्त्व थाहा हुने अनुभव सुनाएकी छन् ।
बुधवार धनगढीमा आयोजित सर्वोदय शान्ति पदयात्राको स्वागत समारोहमा नेत्री डा. देउवाले मानिसको जीवनमा अध्यात्मको महत्त्व र आवश्यकता सम्बन्धी आफ्ना अनुभव सुनाइन् ।
उनले भनिन्, ‘अध्यात्ममा लागेपछि मानिसलाई नकारात्मक सोच र विचार त्याग्न मद्दत गर्दछ र हरेकको चिन्तनमा सकारात्मक सोच प्राप्त भएपछि मात्र समाज परिवर्तन सम्भव छ ।’
समाजका कैयन् ठूला परिवर्तन, विविध जटिल समस्या एवं द्वन्द्वहरूको समाधान समेत सकारात्मक सोचबाट मात्र सम्भव भएका अनेक दृष्टान्त प्रस्तुत गर्दै नेत्री डा. देउवाले भनिन्, ‘आध्यात्मिक चिन्तन र व्यवहारले नै मानिसलाई आफ्नो जीवनका हरेक कठिनाइको सामना गर्न सहयोग पुग्दछ ।’
आफू बिरामी भएर करीब ७ महिना जापान बसेका समयको अनुभव सुनाउँदै उनले भनिन्, ‘म बिरामी भएर जापानमा ७ महिना बसें, त्यहाँ सबैसँग अन्तक्र्रिया गर्न मलाई भाषाको समस्या थियो, त्यस समयमा म आध्यात्मिक विषयको अध्ययन र चिन्तनमा रमाउन पुगें, यसले मेरो उपचार प्रक्रियामा पनि म आफैंलाई प्रेरणा प्राप्त भएको अनुभव गरें र जसले गर्दा म छिट्टै निको भएँ जस्तो मलाई लागेको छ ।’
उनले मानवीय जीवनमा नै डा मणिभद्र मुनीजी महाराजको सन्देश, उपदेश तथा मन्त्रको ठूलो प्रभाव रहने विचार राखिन् । मणिभद्र महाराजको तपस्या प्रेरणादायी रहेको चर्चा गर्दै कांग्रेस नेत्री डा. राणाले भनिन्, ‘उहाँ ४० वर्षदेखि हिँड्दै आउनुभएको छ । ८५ हजार किलोमिटर हिँड्ने उहाँको क्षमता र आत्मशक्ति अतुलनीय छ ।’