ललितपुर, १८ पुस — ६ दिन अघि दाङबाट सरुवा भएर आएका ललितपुरका प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले शान्ति सुरक्षा कायम गर्ने सवालमा कसैसँग पनि सम्झौता नहुने बताएका छन् ।

जिल्ला विकास समितिको कार्यालय ललितपुरले आयोजना गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममा काफ्लेले शान्ति सुरक्षाको व्यवस्थापन सामान्य बनाउने बताए । ‘सबै विषयको उठान शान्ति सुरक्षासँग जोडिन्छन्,’ उनले भने, ‘प्रहरीसँगको सहकार्यमा शान्ति सुरक्षालाई सबल बनाउने काममा प्राथमिकता दिनेछु ।’
काफ्लेले जनताको जीउधनको सुरक्षाको लागि प्रचलित कानूनमा कसैसँग पनि सम्झौता नगर्ने बताए । साथै उनले सुव्यवस्थाको लागि सबै कार्यालयहरुले आफ्नो माताहतमा काम गर्ने समेत बताए । सूचना अधिकारी र नागरिक वडापत्र अनुसारको कामका लागि आफूले पहल गर्ने उनले बताए ।
साथै काफ्लेले जिल्लास्थित अन्य कार्यालयहरूमा सेवा लिँदा समस्या भएका सोझै आफूकहाँ आएर गुनासो गर्न पनि अनुरोध गरेका छन् । साथै उनले जिल्लास्थित सम्पूर्ण गैह्र सरकारी संस्थाहरुको नियमनमा पनि जोड दिने बताए ।
सो कार्यक्रममा स्थानीय विकास अधिकारी हरिप्रसाद दाहाल र प्रहरी बरिष्ठ उपरीक्षक पीताम्बर अधिकारीले पनि मन्तब्य राखेका थिए । दाहालले भूकम्पपछिको पुर्ननिर्माण, सांसद विकास कोष अन्तर्गतका योजनाहरू र स्थानीय पुर्नसंरचनाको विषयमा जानकारी गराएका थिए । अधिकारीले चाहिँ शान्ति सुरक्षा र विकृति विसंगतीहरू नियमनका लागि प्रहरी चनाखो भएर काम गरिरहेको बताए ।