
आँखाहरूले छोड्न मान्दै मानेनन् । सिक्लेसको सौन्दर्यले चुम्बक झैं लगातार आफूतिर तानिरहेको थियो । हावाले आफ्नै लयमा गीत गाउँदै थियो । ढुकुरको जोडी आफ्नै दुनियाँमा रमाइरहेको थियो ।
त्यतिबेलाको खुशी आयातित थिएन । अर्थात खुशी स्वयम् प्राकृतिक थियो । त्यही प्राकृतिक सौन्दर्यको खानी सिक्लेसमा जब हामी पुग्यौं, त्यहाँ पुग्दा हाम्रो मन हावामा उडिसकेको थियो ।
पोखराबाट ३९ किलोमिटर टाढा अन्नपूर्ण दोस्रो, चौथो र लमजुङ हिमालको काखमा रहेको सिक्लेस गाउँ स्वर्गको एक टुक्रा झैं लाग्छ । आफू सपनामा छु कि विपनामा छु भन्ने लागिरहन्छ बेलाबेलामा । कुशल चित्रकारले काल्पनिक रुपमा क्यानभासमा उतारेको अमूर्त चित्रजस्तो लाग्छ सिक्लेस ।
पोखरा बसेको लामो समय बसेपनि हामी त्यहाँसम्म पुग्न सकेका रहेनछौं । समयको व्यस्तताले यति नजिकको सिक्लेस हाम्रो लागि टाढाको तिर्थ बनिरहेको थियो । हरेक वर्ष सिक्लेस घुम्न जाने योजना हुन्थ्यो । तर, सफल हुन्थेन ।
एक साँझ कफी गफमा मेरा आत्मीय साथी विजय र बसन्तसँग घुम्न जाने योजना बनाइरहेका थियौं । साथमा अन्य साथी रोनिश र निर्मल पनि हाम्रो यात्रालाई साथ दिन थपिए । र, सिक्लेसको यात्रा तय हुने पक्का भयो ।
पोखराबाट सिक्लेस पुग्न तीन घण्टा हिँडनुपर्ने थियो । हामी जानका लागि पूरै तयारीमा जुट्यौं । पाँच साथी मिलेर बाटो लाग्यौं ।
सिक्लेस पुग्न अझै कति हिँड्न छ भन्ने हामीलाई थाहा थिएन । यात्रामै भेटिएकी एउटी दिदीलाई साथीले सोध्यो, ‘दिदी, आज सिक्लेस पुग्न सकिन्छ त?’
‘अल्लारे केटाहरूलाई जतिबेला मन लाग्यो, त्यतिबेला सिक्लेस पुगिन्छ भन्ने लाग्यो?’ उनले जिस्काउँदै भनिन्, ‘वनको बाटो अँध्यारो हुन्छ, आज सबी बस्नुभए हुन्छ ।’
पोखराको काहुँखोला हुँदै सिक्लेस पुग्नका लागि सबी पुग्नैपर्ने थियो हामीलाई ।
पोखरा नजिकैको काहुँखोला हुँदै हामी सबी (कास्कीको एक स्थान) लाग्यौं । बसमा मान्छेको उस्तै भिड । हामीभित्रको जोश र बसको भीड पर्याय लाग्थ्यो ।
हामी बस चढ्यौं । बस सबीलाई दूरी बनाएर कुदिरहेको थियो । हामीले बसको छतबाट बाटोभरी प्लटिङ गरिएका जग्गा हेर्दै यात्रामा सरिक भएका थियौं । साँघुरो र घुमाउरो कच्ची बाटोमा उड्ने धूलोले कालो अनुहारलाई खैरेजस्तै बनिइसकेको थियो । तर, हाम्रो ध्यान धूलोमा हैन, प्रकृतिमा थियो ।
बसको यात्रा एक आँखीझ्यालजस्तै थियो । घरहरू पुराना र खाली देखिन्थे । खेतबारी बाँझा थिए । बाटो यति साँघुरो र भयानक थियो कि, बेलाबेलामा हामीले झट्टै भगवानलाई याद गर्ने गथ्र्यौं । बसको छतमा बसेर बाटोमा भेटिने केटी जिस्काउँदै हामी सबी पुग्यौं । सबी पुग्दा बेलुकाको सात बजिसकेको थियो ।
सबी त पुग्यौं तर बस्ने बास पाउन हामीलाई गाह्रो भइसकेको थियो । उता सिक्लेसमा फोन गरेर होटलमा खाना पकाउन भन्यौं । र, रातारात सिक्लेसको यात्रामा जुट्यौं ।

हामीसँग उज्यालोका लागि टर्च लाइट थियो । त्यो पनि मोबाइलको । पाँच जनाको साथी समूह सिक्लेसतिर लाग्यो । यात्रा जम्मा तीन घण्टाको । रातको यात्रा साँच्चिकै रोमाञ्चक । कोइलीको आवाज र मादी खोलाको धुन सुन्दै हामी यात्रामा रमाइरहेका थियौं । आकाशको जूनले पनि हामीलाई स्वागत गरेको थियो सिक्लेस घुमाउन ।
जूनको उज्यालोमा हामी उकालो लाग्दै थियौं । कतै छेउमा ढुंगेधारा त कतै प्रतीक्षालय देखिन्थे । रात्रीकालीन त्यो यात्रामा हामीले गजल, मुक्तक तथा कविता सुनाएरै बाटो काटिरहेका थियौं । साथीहरूले बेलाबेलामा चुट्किला पनि सुनाउँथे ।
यात्रा अन्ततः सिक्लेस पुग्यो । सिक्लेस पुग्दा रोधी चलिरहेको थियो । त्यत्रो यात्रा हिँडेर पनि हामी फेरि रोधीमा नाच्न थाल्यौं । गुरुङ समुदायले आफ्नो संस्कृतिलाई जोगाउन ठूलो भूमिका खेलेको रहेछ । आफ्नो भेषभुषामा बुढाबुढी र केटाकेटीको संख्या बढी देखिन्थ्यो । लगभग एक घण्टा रोधीको रमाइलोमा झुमेपछि हामी होटल गयौं ।
अर्को बिहान हाम्रा आँखाले सबैभन्दा पहिला सेता हिमाल देखे । सिक्लेसको चर्चा त्यसै चलेको होइन रहेछ । नजिकै देखिने हिमालहरूले मनलाई चंखा बनाइदिएका थिए । बादलका स–साना टुक्राहरूले हिमाललाई अझ सुन्दर बनाएका थिए ।

बिहानै देखिएका ती दृश्यले मात्र कहाँ सिक्लेसको यात्रालाई सानो केन्द्रमा राख्न सक्थ्यो र ! हामीलाई सिक्लेसबाटै हेर्नु थियो, नेपालको सबैभन्दा होचोस्थानमा भएको कुफुचे हिमताल, अन्नपूर्ण दोस्रो, अन्नपूर्ण चौथो र लमजुङ हिमाल । साथै अन्य सुन्दरताहरू ।
बिहानी समयमा घाँस काट्न जाने र स्कुल जाने केटाकेटीले दृश्यलाई अझ आकर्षक बनाएका थिए । स्थानीयका कथा भने आफ्नै छन् । ‘हामी नुन र तेल लिनका लागि चार दिन हिँडेर पोखरा जाने गथ्र्यौं ।’, एक स्थानीय सुनाउँदै थिए ।
हामी सिक्लेस वरपरका अन्य ठाउँ घुम्न निस्कियौं । मादी खोलाको सङ्लो पानीले सिक्लेसका स्थानीयको मन बोलेजस्तो लागिरहन्थ्यो । जनयुद्धमा प्रचण्ड र बाबुराम लुकेको स्थान भनेर चिनिने सिक्लेसमा बाटो पुगेको पन्ध्र वर्ष भएको स्थानीय बताउँदै थिए ।
गाडी पुगेको पन्ध्र वर्ष भएपनि अहिले पनि पानी पर्दा गाडी जाँदैनन् । यात्रा जोखिममै गर्नुपर्छ ।
पोखरामा बसेका हामीलाई बाटोमा रातै फुलेका लालिगुराँसले पनि मख्ख पारेका थिए ।
बाटोमा दाउरा घाँस गर्ने पनि भेटिरहेका हुन्थे । हामीले दाउरा घाँस गर्ने युवतीहरूलाई जिस्काउँदै यताउताको यात्रा गरेका थियौं । कति मीठो हाँसो हाँस्थे ती नानीहरु । स्थानीयलाई त्यति रमाइलो नलागेको सिक्लेसले भने हाम्रो मनलाई हरिसकेको थियो । उनीहरूले गर्ने व्यवहारले हामीलाई मख्ख बनाएको थियो । पर्यटकलाई सम्मान गर्ने संस्कारले अरुलाई समेत संस्कार सिकाएको भान हुन्थ्यो ।

गाउँ घुमेर होटल फक्र्यौं । खाना खायौं । त्यसपछि फेरि एदी झरना पुग्यौं । पैंसठ्ठी मिटर अग्लो झरनामा पानी मात्र मिसिएको थिएन । शायद सिक्लेसवासीको दुःख पनि मिसिएको थियो । तर, लोडसेडिङ नै नहुने त्यहाँको बिजुलीले किसानको पीडालाई उज्यालो पनि बनाएको थियो ।
हामी सिक्लेस हाइड्रोपावर पनि घुम्यौं । त्यहाँको संस्कृति र लोपोन्मुख औजारप्रतिको स्थानीयको सम्मानले हामीलाई मख्ख बनायो । जाँतो, ढिँकी, तरबार, खुँडा, चाल्नी जस्ता गाउँले औजार देख्दा साँच्चिकै रमाइलो लागिरहेको थियो ।
भित्तामा देखिएका पेन्टिङ आकर्षक थिए । काठमा भरिएका बुट्टा पनि नौला लाग्थे । भेँडा पाल्ने र कृषिलाई मुख्य पेशा बनाएका सिक्लेसवासीले पर्यटकका लागि होमस्टेसमेत बनाएका छन् ।
हामीलाई त्यही होमस्टेले लोभ्याउँछ । स्थानीयको व्यवहारले लोभ्याउँछ । प्रकृतिले लोभ्याउँछ ।

लाग्छ, घुमेको ठाउँमध्ये सिक्लेस पनि स्मरणीय गन्तव्य हो । हामीलाई सिक्लेस छोडेर पोखरा फर्कन त मन थिएन तर पोखरामा जागिरले कुरिरहेको थियो । जुन जागिरको पैसाले हामीले सिक्लेसको यात्रा तय गरेका थियौं ।
हामी फर्कदै थियौं । कोही सिक्लेसतिर जाँदै थिए । अब उनीहरूले मनमा के के सोच्लान् । के डायरी लेख्लान्? पोखरादेखि नजिकै पर्ने सिक्लेस तपाईका लागि पनि रिफ्रेस हुनका लागि गतिलो गन्तव्य हुन सक्छ ।