
विकटमा मतपत्र ढुवानीको जिम्मा नेपाली सेनालाई दिइने भएको छ ।
बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा विकट क्षेत्रमा नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेर निर्वाचनका सामाग्रीहरू ढुवानी गर्न लागेको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।
‘निर्वाचनमा दलहरूका प्रतिनिधिहरूसहित सेनाको हेलिकप्टर प्रयोग गर्ने निर्णय भएको हो,’ प्रवक्ता पोखरेलले लोकान्तरसँग भने,‘खाली मतपत्र त जसले पनि लग्न सक्छ तर मतदान भइसकेपछि मतगणनास्थलसम्म प्रतिनिधिहरूसहित सेनाको हेलिकप्टर प्रयोग गर्ने निर्णय भएको हो ।’
गृहमन्त्री बालकृष्ण खाँडको नेतृत्वमा शुक्रवार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ले सो निर्णय गरेको मन्त्रालयले जनाएको छ ।
समितिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई निर्णय 'सर्कुलेट' गरेको हो ।