
आगामी बैशाख ६ गतेबाट देशभर कृषि गणनाको तथ्याङ्क संकलन हुने भएको छ ।
सोमवार बागमती प्रदेशको राजधानी हेटौंडामा जिल्ला स्तरीय कृषि गणना सचेतना गोष्ठी कार्यक्रम गर्दै प्रदेश कृषि गणना कार्यालयका अधिकृत राजेश दासले आउँदो बैशाख ६ गतेबाट जेठ १९ गतेसम्म देशभर वैज्ञानिक विधिले छनोट गरिएको वडामा कृषक परिवारसँग व्यक्तिगत अन्तर्वार्ताबाट कृषिसम्बन्धी विस्तृत विवरण संकलन गरिने बताए ।
उनले राष्ट्रिय कृषिगणना–२०७८ का लागि बागमती प्रदेशले प्रदेश कृषि गणना कार्यालयको स्थापना गरिसकेको बताउँदै भोलि (चैत १५) बाट २१ गतेसम्म प्रशिक्षकको तालिम समेत हुने बताए ।
कार्यलय अधिकृत दासका अनुसार, देशभर कृषि गणना अधिकृत ७७ जना, सुपरीवेक्षक १५ सय जना र ६ हजार गणक रहेकोमा मकवानपुरमा कृषि गणना अधिकृत १ जना, सुपरीवेक्षक १८ जना र ७० जना गणक रहेका छन् ।
गणकले कृषकहरूले चलन गरेको जग्गाको अवस्था तथा पशुपन्छी पालन,अन्य खेती वातावरण लगायत विविध विषयसम्बन्धी विस्तृत विवरणहरू संकलन गर्ने छन् ।
कृषि गणनाको लागि मकवानपुरको १ सय २ वडा मध्ये ९१ वटा वडा नमुना परेको र गणना क्षेत्र १ सय ८५ रहने जानकारी दिए ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना कुमारी लामाले कृषि गणनाका लागी नमुना वडा छनौट गर्दा ध्यान दिनुपर्ने बताइन् ।
यस्तै कृषि गणनाकै आधारमा कृषि क्षेत्रको विकास र प्रवर्द्धनको लागी योजनाहरू बन्ने हुनाले गणकहरू वास्तविक तोकिएको क्षेत्रमा पुग्छन् कि पुग्दैनन् भन्ने विषय चुनौतीको विषय रहेको उनले बताइन् ।
यस्तै जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले कृषि गणनाको तथ्याङ्क संकलन गर्न आएकालाई आफ्नो वास्तविक विवरण दिँदै सबैले सहयोग गर्नु पर्ने बताए ।