
लगातार एक सातादेखि घटिरहेको नेप्से साताको दोस्रो दिन सोमवार पनि करिब ३० अंकले घटेको छ ।
सोमवार शेयर बजार २९.९८ अंकले घटेर २५४२.२८ विन्दुमा ओर्लिएको छ । शेयर बजार पछिल्लो एक सातादेखि निरन्तर घटिरहेको छ । गत साता ८ चैतमा २६५० अंक पुगेको नेप्से परिसूचक लगातार घट्दै सोमवारसम्ममा १०७ अंक घटिसकेको छ ।
बजार घटेको कारण सोमवार कारोवार रकम पनि साढे २ अर्बमा मात्रै सिमित भएको छ । सोमवार २३१ कम्पनीको ४९ लाख ५८ हजार कित्ता शेयरको ४२ हजार पटक कारोवार भएको छ । यसबाट २ अर्ब ५४ करोड रुपैयाँको कारोवार भएको छ ।
बजार घटेको दिन दुई वटा कम्पनीको लगानीकर्ताले भने १० प्रतिशतले कमाएका छन् ।
सोमवार राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपालका लगानीकर्ताले भने १० प्रतिशतले कमाएका छन् । आज सबैभन्दा बढी गुमाउनेमा आइसीएफसी फाइनान्स रहेको छ । यसका लगानीकर्ताले ४.८२ प्रतिशतले गुमाएका छन् । यो बाहेक आज अधिकांश कम्पनीका लगानीकर्ताले ४.५२ प्रतिशतसम्मले गुमाएका छन् ।
आज सबैभन्दा बढी जीवन विकास लघुवित्त वित्तीय संस्थाको कारोबार भएको छ ।
यसका लगानीकर्ताले भने २.६८ प्रतिशतले कमाएका पनि छन् । ५२ सय रुपैयाँ प्रति कित्तामा कारोवार भइरहेको यो कम्पनीको शेयर मूल्य समायोजना भएर दुई दिन अगाडि मात्रै ३ हजार रुपैयाँमा झरेको थियो । यही कम्पनीमा लगानीकर्ता भुम्मिएका कारण शेयर मूल्य समायोजन पछिको दुई दिनमै साढे ३ सय रुपैयाँ भन्दा बढी बढेर प्रतिकित्ता ३३ सय ६८ रुपैयाँ पुगेको छ ।