१२ असार २०८३, शुक्रबार

नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा

चैत १५, २०७८
नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा

नेपालको तीनदिने भ्रमण सम्पन्न गरी चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन् ।

विदेशमन्त्री वाङको भ्रमणले नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपेको विश्लेषण कूूटनीतिक क्षेत्रको छ । यस भ्रमणले एक–अर्कामा कुनै पनि संशय अन्त्य गर्न मद्दत मिलेको राय राजनीतिक विश्लेषकको छ ।

नेपाल र चीनबीच सन् १९५५ अगस्ट १ मा औपचारिक रूपमा कूटनीतिक सम्बन्ध कायम भएयता द्विपक्षीय कूटनीतिक सम्बन्धमा मैत्रीभाव, समझदारी, आपसी सहयोग र सहकार्य, एक–अर्काको समान हैसियतलाई प्राथमिकता दिँदै आएको छ । चीनका लागि पूर्वराजदूत राजेश्वर आचार्य भन्छन्, “चीनका विदेशमन्त्री वाङ नेपाल बुझेका राजनीतिज्ञ हुन् । नेपाल र नेपालीप्रति सद्भाव राख्नुहुन्छ भन्ने कुरा मैले उहिल्यै चाल पाएको थिएँ ।” उहाँले करिब २४ वर्षअघि वाङसँग समकक्षीको भूमिकाका काम गर्दाको अनुभव स्मरण गर्दै भन्नुहुन्छ, “वाङ नेपाल मामिलामा अधिक जानकारी राख्नुहुन्छ ।”

नेपाल–चीन सम्बन्ध कसैले चाहेर पनि तोडिन नसक्ने आचार्य बताउँछन् । उनी भन्छन्, “नेपालको सार्वभौमिकताको सम्मानमा चीनले नेपाललाई पहिलो प्राथमिकतामा राख्छ । अनि एक चीन नीतिप्रति नेपाल सदैव अडिग रहन्छ ।” अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनपछि विभिन्नखाले टीका–टिप्पणी चलिरहेको सन्दर्भमा यो भ्रमणले शङ्का निवारणमा मद्दत पुगेको छ । नेपालमा चीनविरोधी गतिविधि सञ्चालन हुन्छ कि भन्ने मित्रराष्ट्र चीनको शङ्कालाई यो भ्रमणले अन्त्य गरेको छ ।

पूर्वराजदूत आचार्यका अनुसार, प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्काले चिनियाँ पक्षको त्यसखालको शङ्कामा निश्चिन्त पार्ने प्रयास गरेका छन् । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक चीन नीतिप्रतिको प्रतिबद्धतापछि चिनियाँ पक्षमा रहेको शङ्का अन्त्य गरेको उनी बताउँछन् ।

दक्षिण एसियाली मुलुक भारत, पाकिस्तान, अफगानिस्तान, श्रीलङ्कासहितका मुलुकको मनस्थिति बुझेर नेपाल आएका वाङले नेपालको पछिल्लो अवस्थालाई नजिकबाट नियालेका छन् ।

चीनको नेपालप्रतिको चासो केवल छिमेकी भएका हैसियतले मात्र हैन । दक्षिण एसियामा अन्य भौगोलिक क्षेत्रबाट हुन सक्ने हानि–नोक्सानीप्रति चासो रहेको उसका विगतका टिप्पणीले समेत प्रस्ट पार्छ । नेपालजस्तो शान्ति भूमिमा बाह्य हस्तक्षेप वा गतिविधि बढेमा त्यसको प्रभाव चीनको सुरक्षा व्यवस्थामा स्वाभाविक रूपमा पर्छ । त्यसैले पनि चीन नेपालको सबै गतिविधिमा चनाखो रहनु नौलो विषय नरहेको पूर्वराजदूत महेन्द्रबहादुर पाण्डे बताउँछन् ।

चीनले जे सन्देश दिनुपर्ने हो, त्यो स्पष्ट रूपमा विदेशमन्त्री वाङले दिएको उनको तर्क छ । यो भ्रमणले नेपालको चीनसँगको सम्बन्धमात्र हैन, विश्वका अन्य मुलुकले पनि नेपालप्रति धारणा बनाउन सक्ने अवस्था सिर्जना गरेको छ । दक्षिण–पूर्वी सिमाना जोडिएको नेपालको हितमा सधैँ साथ रहने चीनको प्रतिबद्धतालाई वास्तविकतामा परिणत गर्न विदेशमन्त्री वाङ चुकेनन्।

पूर्वराजदूत पाण्डे यस भ्रमणबाट नेपालले धेरै फाइदा लिए पनि नेपाल–चीनबीच सम्झौता भइसकेको बीआरआईजस्तो महत्वाकाङ्क्षी परियोजनालाई कार्यान्वयनमा लैजाने विषयमा नेपालको गृहकार्य नपुगेको बताउँछन् ।

उनका अनुसार, यस परियोजनासँग जोडिएका पूर्वाधारका काम निकै महँगा भएकाले नेपाल सरकारले मात्र सम्पन्न गर्न सक्दैन । कसरी कुन प्रारूपमा अघि बढाउन सकिन्छ भनेर सरकारले यस भ्रमणमा खाका प्रस्तुत गर्न सक्नुपथ्र्यो ।

अवरुद्ध हवाई सेवा निरन्तर गर्ने विषय सकारात्मक छ । तर, सीमा सन्धिको मर्मअनुसार नेपाल–चीन सीमालाई निरन्तर शान्त राख्न आपसी परामर्शबाट नेपाल–चीन सीमाको संयुक्त निरीक्षण गर्ने विषयमा नेपाली पक्षले थप विचार गर्नु जरुरी रहेको भनाइ पूर्वराजदूत पाण्डेको छ ।

नेपालको बसाइलाई अन्य मुलुकको तुलनामा महत्व दिँदै तोकिएभन्दा तीन घण्टापहिल्यै वाङ नेपाल आए । शुक्रबारदेखि आइतबार अपराह्नसम्म नेपालमा रहँदा वाङले भेटवार्ता र औपचारिक महत्वका समारोहलाई मात्र हैन, अनौपचारिक विषयमा चासो देखाए । नेपालको छिमेकीपनमा उनले शिवपुरीको शीतल पर्यटनको आनन्द उठाउनु अनि अन्य पर्यटकीय क्षेत्रको लाभबारे सोधनी गर्नुजस्ता विषयले भविष्यको साझेदारीको छाँया तस्बिर बताउँछ ।

प्रधानमन्त्री देउवासँगको शिष्टाचार भेटका क्रममा उनले व्यक्त गरेको साझेदारीको प्रतिबद्धता केवल कोरा कल्पनामात्र हैन, त्यसलाई फलिभूत बनाउन चीन तत्पर छ भन्ने प्रमाण पोखरा विमानस्थलको हस्तान्तरण हो ।

यीजस्तै दरबार हाइस्कुल, कलङ्कीको अन्डरपास सडक, अरनिको राजमार्ग, विभिन्न सम्पदा क्षेत्र चीन सरकारले नेपालका काम सकेर हस्तान्तरण गरिसकेको छ । परराष्ट्रमन्त्री डा. खड्कासँगको द्विपक्षीय भेटवार्तामा यसअघि नटुङ्गिएका र विवादमा रहेका केही विषयमा महìवपूर्ण सहमति भए । जसले नेपाल–चीन सम्बन्धको यात्रालाई नयाँ उचाइमा पु-याउन सहयोग गरेको छ ।  गोरखापत्र दैनिकमा चाँदनी हमालले खबर लेखेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्