०४ साउन २०८३, सोमबार
स्थानीय चुनावको सरगर्मी

धरानको चुनावी लडाईं : विरासत फर्काउने दाउमा एमाले, साख जोगाउने कांग्रेसको मिसन

चैत १८, २०७८
धरानको चुनावी लडाईं : विरासत फर्काउने दाउमा एमाले, साख जोगाउने कांग्रेसको मिसन

प्रदेश १ का दुई उपमहानगरमध्ये एक हो, धरान उपमहानगरपालिका । लाहुरेहरूको शहरका रूपमा चिनिने धरानमा यतिबेला स्थानीय निर्वाचनले छोपिसकेको छ । 

मुख्य प्रतिस्पर्धी कांग्रेस र एमालेमा टिकटका लागि रस्साकस्सी चलिरहेको छ । अन्य दलहरू भने चुनावी गठबन्धनको जोडघटाउमा छन् ।

अघिल्लोपटक एमालेले जितेको धरानमा उपनिर्वाचन हुँदा कांग्रेसले बाजी मारेको थियो ।

२०७४ मा मेयर जितेका ताराबहादुर सुब्बाको निधन भएपछि उपनिर्वाचन हुँदा कांग्रेसका तिलक राई निर्वाचित भएका थिए ।

२०४६ सालपछाडि भएका चुनावमा वामपन्थीले जित्दै आएको धरानमा पहिलोपटक कांग्रेसले बाजी मारेको हो ।

मेयर पदमा निर्वाचित भएका तिलकले २६ हजार ७ सय ९ मत ल्याए भने तत्कालीन नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत ल्याए । 

एमाले र माओवादी एक भएर बनेको नेकपाले वामपन्थीको पकड मानिएको धरान गुमाउनुपर्‍यो ।

मेयरमा निर्वाचित तिलक राई २०७४ सालको चुनावमा एमालेका तारा सुब्बासँग ४ हजार ८ सय ७३ मतले पराजित भएका थिए । 

अघिल्लो चुनावमा १६ हजार १ सय २ मत पाएका तिलकले उपनिर्वाचनमा बाजी मारे ।

त्यसअघि २०५४ को स्थानीय निर्वाचनमा एमालेका मनोज मेन्याङ्बो र २०४९ मा एमालेकै ध्यानबहादुर राई विजयी भएका थिए । उपनिर्वाचनको नतिजा तत्कालीन नेकपाका लागि अपेक्षित थियो ।

अघिल्लो स्थानीय निर्वाचनमा उपमहानगरका २० वडामध्ये १४ वडा एमालेले जितको थियो भने  ५ वटामा कांग्रेस र एकमा माओवादी केन्द्र विजयी भएको थियो । 

एमालेका आकांक्षी

एमालेभित्र मेयरका लागि संघीय सांसद जयकुमार राई, उपमेयर मञ्जु भण्डारी लगायतका नेताको नाम चर्चामा छ । सांसद राई १० बुँदे सहमतिका क्रममा तत्कालीन माधव नेपाल समूह  छाडेर एमालेमै बसेका नेता हुन् ।

प्रदेश १ का निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यको गृहजिल्ला भएकाले पनि सुनसरीमा माधव नेपाल पक्ष छाडेका नेताहरूको बाहुल्य छ । आचार्य आफैं नेपाल–खनाल समूह छाडेका नेता हुन् ।

आदिवासी जनजातिको शहरका रूपमा समेत चिनिएको धरानमा उमेदवार जनजाति उठाउँदा बढी मत पाउने सम्भावना हुन्छ । त्यसैले प्रायः जनजाति नेता नै उम्मेदवारका रूपमा चर्चामा छन् ।

मञ्जु भण्डारी हाल उपमेयर रहेकाले मुख्य चर्चामा छिन् । उनी ४० वर्ष पनि पुगेकी छैनन् । मेयर तारा सुब्बाको निधन भएपछि कार्यवाहक मेयर समेत भइसकेकाले उनको नाम स्वाभाविक रूपमा चर्चामा आएको छ ।

कार्यबाहक मेयर समेत भएर गरेको कामको मूल्यांकन पार्टीले गर्नुपर्ने उनी बताउँछिन् । उनी पार्टीको केन्द्रीय सदस्य हुन् भने जयकुमार राई प्रदेश कमिटीका सचिवालय सदस्य हुन् ।

यस्तै मेयरका आकांक्षीका रूपमा विजय राईको नाम पनि चर्चामा छ । उनले झलनाथ खनाल प्रधानमन्त्री भएका बेला सचिवालयमा रहेर काम गरेका थिए ।

एमाले छाडेर अशोक राईले खोलेको पार्टीमा गएका उनी पछि डा. विजय सुब्बा लगायतका नेता एमालेमा फर्किँदा सँगै फर्किएका थिए । उनी हाल प्रदेश कमिटी सदस्य छन् ।

एमालेमै मोतीराज सुनुवारको समेत नाम चर्चा रहेको छ । उनी प्रदेश कमिटी सदस्य हुन् । 

यस्तै नारायण सुवेदीको नाम पनि चर्चामै छ । नेकपा हुँदा उनी नगर कमिटी अध्यक्ष थिए भने अहिले नगर इञ्चार्ज छन् । 

पूर्व उपमेयर मीन सुब्बा र पूर्व मेयर मनोज मेन्याङ्वोले पनि मेयरको उम्मेदवार बन्न चासो देखाएको चर्चा एमाले वृत्तमा हुने गरेको छ ।

कांग्रेसका आकांक्षी

कांग्रेसबाट बहालवाला मेयर तिलक राईकै नाम बढी चर्चामा छ । धरानको विकास गर्नका लागि पनि पूरा कार्यकाल मेयर चलाउन पाउनुपर्ने उनको दाबी छ ।

राई पछिल्लो समय पार्टीको आन्तरिक गुटउपगुटमा कतै खुलेका छैनन् ।

१४ औँ महाधिवेशनमा क्षेत्रीय सभापतिमा संस्थापन पक्षबाट उम्मेदवार बन्ने चर्चा भएपनि अन्तिम दिन उनले उम्मेदवार नउठ्ने बताएका थिए । 

त्यसपछि लक्ष्मी खतिवडालाई उम्मेदवार बनाइएको थियो ।

संस्थापन पक्षका नेताहरू आफूसँग रुष्ट भएपछि उनीहरूलाई फकाउन उनले केही दिनअघि धरान स्थापनाको १ सय २१ वर्ष पुगेको उपलक्ष्यमा मनाइएको (धरान डे) कार्यक्रममा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई बोलाएका थिए ।

एमालेको लालकिल्ला तोडेको उम्मेदवार भएकाले कांग्रेसबाट मेयर राई नै उम्मेदवार बन्ने चर्चा छ । सुनसरीका दुई उपमहानगरमध्ये एक संस्थापन र एक संस्थापन इतरका नेताले पाउने आंकलन छ । 

कांग्रेसबाट मेयर राईका अलावा सुजेन्द्र गोले, किशोर राई र श्याम पोखरेलको नाम पनि चर्चामा छ । पोखरेल नगर सभापति हुन् ।

माओवादी र एकीकृत समाजवादी

माओवादी केन्द्रबाट मेयरको सम्भावित उम्मेदवारका रूपमा नगर इन्चार्ज समेत रहेका पक्वहाङ लिम्बू (चोत्लुङ) र आइन्द्रविक्रम बेघाको नाम चर्चामा छ । गत चुनावमा समेत बेघा मेयरको उम्मेदवार थिए । 

यता एकीकृत समाजवादीले पनि धरानको मेयरमा उम्मेदवारी दिने दाबी गरेको छ । 

धरानका सबै वडामा कमिटी बनिसकेकाले आफ्नो पार्टीको पनि उम्मेदवार हुने पार्टीका केन्द्रीय सदस्य समेत रहेका सुनसरीका सह–इञ्चार्ज जीवन राईले बताए ।

गठबन्धन बने आफ्नो पार्टीको निर्णायक मत हुने उनको दाबी छ । विशेष गरी माओवादी, एस र जसपा भने चुनावी गठबन्धन कसरी बन्छ भन्ने जोडघटाउमा छन् ।

साख जोगाउने र फर्काउने कोशिशमा कांग्रेस–एमाले

धरानमा गुमेको साख फर्काउने रणनीतिमा एमाले लागिपरेको छ ।

कांग्रेसले आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय गरिसकेकाले एमालेले थप चुनौतीको सामना पनि गर्नुपर्ने हुन सक्छ । त्यस्तो अवस्थामा निकै ठूलो मेहनत गर्नुपर्ने एमाले सुनसरीका एक नेताले बताए ।

उपमेयर अन्य पार्टीलाई दिएर मेयर जित्ने दाउमा कांग्रेस देखिन्छ । गठबन्धन गर्दा उपमेयरसहित केही वडाध्यक्ष गुमाउनुपर्ने र नगर्दा मेयर नै चिप्लिने डरमा कांग्रेस छ । 

* (ब्यानरमा असावधानीवश असम्बन्धित तस्वीर पर्न गएकाले सच्च्याइएको छ ।)

salt training

कमेन्ट गर्नुहोस्