
प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सरकार लागिपरेको बताएका छन् । भारत भ्रमणमा रहेका देउवाले दिल्लीस्थित नेपाली दूतावासमा शुक्रबार राति आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै एकै चरणमा स्थानीय तहको सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।
उनले आगामी आर्थिक वर्षमै संघीय र प्रदेश निर्वाचन पनि गर्नुपर्ने अवस्था रहेको बताए ।
उनले नेपाल भारतबीचको सम्बन्ध जनस्तरबाटै बलियो रहेको उल्लेख गर्दै दुई देशको सम्बन्धमा निरन्तर बलियो र विश्वसनीय रहिरहने बताए । कोरोना महामारीका बेला भारतमा रहेका नेपालीहरुलाई अनेकन कठिनाइ परेको स्मरण गर्दै देउवाले यस्तो अवस्थामा पनि नेपाल र नेपालीका लागि सहयोग गरेको प्रति देउवाले प्रवासमा रहेका नेपालीलाई धन्यवाद दिए ।
देउवाले आर्थिक समाजिक विकासलाई केन्द्रमा राखी सरकार समुन्नत नेपाल निर्माणमा लागिपर्ने पनि बताए ।