२१ जेठ २०८३, बिहीबार

सम्मानजनक चुनावी गठबन्धन गर्न लोसपा तयार, स्थानीय कमिटीलाई अधिकार

चैत १९, २०७८
सम्मानजनक चुनावी गठबन्धन गर्न लोसपा तयार, स्थानीय कमिटीलाई अधिकार
फाइल फोटो

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले आगामी निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ ।

काठमाडौंमा सम्पन्न लोसपा कार्यकारिणी समिति बैठकले स्थानीय कमिटीलाई आगामी निर्वाचनमा गठबन्धन गर्न अधिकार दिएको छ ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन विषयमा छलफल गर्न बसेको बैठकले स्थानीय कमिटीलाई नै ‘जोसँग सम्मानजनक कुरा मिल्छ उसैसँग’ चुनावी गठबन्धन गर्न अधिकार दिएको छ ।

लोसपा कार्यकारिणी समितिका सदस्य सञ्जय यादवले आगामी निर्वाचनमा गठबन्धन गर्ने अधिकार स्थानीय कमिटीलाई नै दिएको बताए । ‘स्थानीय कमिटीले जोसँग सम्मानजनक कुरा मिल्छ उसैसँग चुनावी गठन गरेर जाने अधिकार कार्यकारिणी समितिले दिएको छ,’ यादवले भने ।

लोसपा कार्यकारिणी समितिका सदस्य उमाशंकर अरगरियाले केन्द्रबाट गठबन्धन नहुने बताए । स्थानीय कमिटीले अनुकूल हुने दलसँग चुनावी गठबन्धन गर्न सक्ने अधिकार कार्यकारिणी समितिले दिएको उनले बताए ।

‘केन्द्रमा चुनावी गठबन्धनका लागि कुराकानी चलिरहेको छ तर अहिलेसम्म टुंगो लागेको छैन, केन्द्रका लागि पर्खिनुभन्दा स्थानीय तहमै चुनावी तालमेलका लागि जिम्मेवारी दिँदा उपयुक्त हुने भनेर त्यसरी स्थानीय कमिटीलाई अधिकार दिइएको हो,’ अरगरियाले भने ।

चुनावी गठबन्धन, सरकारमा सहभागी हुने विषयमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग कुराकानी भएको बताउँदै उनले मधेसको मुद्दा सम्बोधन नगरेसम्म लोसपा सरकारमा सहभागी नहुने बताए । यद्यपि मधेशको माग पूरा गराउन प्रधानमन्त्री देउवा सकारात्मक रहेको उनले बताए । प्रधानमन्त्री देउवा भारतबाट फर्केपछि सो विषयमा पुनः छलफल हुने उनले बताए ।

लोसपा स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट स्वदेश फर्केपछि गठबन्धनको विषयमा थप कुरा अगाडि बढ्नेछ । शुक्रवार भारत भ्रमणमा गएका प्रधानमन्त्री देउवा आइतवार स्वदेश फर्किंदैछन् ।

प्रधानमन्त्रीले २ मन्त्रालय दिएर सरकारमा सहभागी हुन प्रस्ताव गरिसकेका छन् तर लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोले ३ मन्त्रालय पाउनुपर्ने अडानमा छन् । मधेशको माग सम्बोधन गर्दै सरकारमा सहभागी गराएर ५ दलीय गठबन्धनमा लोसपालाई सहभागी गराउने रणनीतिमा प्रधानमन्त्री रहेका छन् ।

यसअघि नै आफ्ना माग सम्बोधन भए संघीय सरकारमा सहभागी हुने र आगामी निर्वाचनका लागि गठबन्धनमा सहभागी हुन लोसपा तयार भएको हो । कार्यकारिणी समितिका सदस्य एवं पूर्वमन्त्री शरतसिंह भण्डारीको नेतृत्वमा पार्टी सरकारमा सहभागी हुनेछ ।

प्रधानमन्त्री देउवा नेतृत्वको सरकारलाई समर्थन गरेको लोसपालाई सरकारमा सहभागी हुन र आगामी निर्वाचनका लागि गठबन्धनमा सहभागी हुन देउवाले आग्रह गरेका थिए ।

जसपा कार्यकारिणी समितिको बैठकमा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरूले उठाउँदै आएको माग सम्बोधन गर्न सरकार सकारात्मक भएको अवस्थामा सरकारमा सहभागी हुने जानकारी गराएका छन् ।

लोसपाले मधेश मुद्दा सम्बोधन, झुठा मुद्दा फिर्ता, नागरिकता लगायतका विषय उठाउँदै आएको छ । प्रधानमन्त्री देउवाले यी मुद्दा सम्बोधन गर्ने गरी सहमति गरेर सरकारमा सहभागी गराउने र अगामी निर्वाचनमा ५ दलीय गठबन्धनमा सहभागी गराउने रणनीतिमा छन् ।

लोसपा बैठकमा पदाधिकारी चयन, कार्यकारिणी समिति र केन्द्रीय समितिलाई विस्तार गर्ने विषयमा छलफल भएको छ । निर्वाचनअघि कार्यकारिणी समिति र पदाधिकारी चयन नगर्ने सहमति भएको छ भने निर्वाचनअघि केन्द्रीय समितिलाई विस्तार गर्ने निर्णय भएको छ ।

‘स्थानीय तहको निर्वाचनमा कार्यकारिणी कमिटीका नेतालाई परिचालन गर्ने र सबैको क्षमता परीक्षण समेत गर्ने विषयमा छलफल भएको छ । त्यसपछि पदाधिकारी तथा कार्यकारिणी कमिटीलाई विस्तार गरिन्छ,’ बैठकमा सहभागी एक नेताले भने । राजधानीमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्