
प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले सरकारको प्रमुख दायित्व भनेको शान्ति सुरक्षा र सुशासन कायम गर्नु भएको बताएका छन् । दलहरूले शान्तिपूर्वक रूपमा गर्ने सभा सम्मेलनमा अवरोध पु¥याउने कोही कसैलाई सरकारले नछाड्ने उनले चेतावनी दिए ।
नेपाली कांग्रेस धनकुटाले आज आयोजना गरेको आमसभामा मन्त्री खाँणले स्थानीय निर्वाचनमा सरकारमा सहभागी दलहरूबीच गठबन्धन हुने भन्दै त्यसै अनुरुपको तयारीको साथ अगाडि बढ्न सबै गठबन्धन दललाई आग्रहसमेत गरे ।
चुनाव नजिकिँदै गर्दा राजनैतिक दलहरूले एक अर्कामाथि विभिन्न खाले अवरोध गरेर शान्ति सुरक्षा खलबल्याउन सक्ने भन्दै त्यस्ता गतिविधिमा संलग्न हुने जो सुकैलाई सरकारले कारबाहीको दायरामा ल्याउने उनले बताए ।
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौता गरेर नेपालमा विदेशी सेना आउने भनेर भ्रम फैलाउने गरेको भन्दै उनले सम्झौतापछि सेना आउने नभई बिजुली उत्पादनमा वृिद्ध भई विकास निर्माणमा सहयोग पुग्ने स्पष्ट पारे । रासस