२८ जेठ २०८३, बिहीबार
सरसर्ती २४ घण्टा

आजदेखि पेट्रोलियम पदार्थ सहज, देउवाको भारत भ्रमण औपचारिकतामै सीमित

आजदेखि पेट्रोलियम पदार्थ सहज, देउवाको भारत भ्रमण औपचारिकतामै सीमित

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । अरु दिनझै आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य समाचारसहित नियमित प्रस्तुति लिएर आएका छौँ–
सरकार र पेट्रोलियम व्यवसायीबीच ४ बुँदे सहमति जुटेसँगै पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरणको अवरोध हटेको छ । आजदेखि पेट्रोलियम पदार्थ सहज हुने नेपाल आयल निगमले जनाएको छ । 
 व्यवसायीले कमिसन र भाडा बढाउनुपर्ने माग गर्दै आन्दोलन थालेपछि काठमाडौं उपत्यकासहित देशैभर पेट्रोलियम पदार्थको अभाव देखिएको थियो भने काठमाडौंका पेट्रोल पम्पमा शुक्रबारदेखि नै चर्को लाइन देखिन थालेको थियो । 
 शनिबार यही समस्या समाधानका लागि नेपाल आयल निगमको पहलमा भएको दुई पक्षीय वार्तामा ४ बुँदे सहमति भएसँगै व्यवसायीले आन्दोलन फिर्ता लिएका हुन् । 
आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले आन्दोलनरत नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन, नेपाल एलपीग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले सार्वजनिक गरेका सबै विरोधका कार्यक्रमहरू आजैको मितिदेखि स्थगन गरी पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको ढुवानी तथा बिक्री वितरणको कार्यलाई यथावत् रूपमा सञ्चालन गर्ने सहमति भएको बताए ।
००००
तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार स्वदेश फर्किँदैछन् । देउवाको भारत भ्रमण औपचारिकतामै सीमित भएको कतिपयको टिप्पणी छ।  शुक्रबार भारत भ्रमणमा गएका देउवाले शनिबार समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए । 
००००
देउवाको भारत भ्रमणका क्रममा पञ्चेश्वर परियोजनादेखि दुई देशका सीमा समस्यासम्मका विषय उठान भएका छन् । तर, ठोस प्रगति हुन सकेको छैन । देउवा र समकक्षी मोदीबीचको वान अन वान भेटवार्ता र दुई देशका प्रधानमन्त्रीले नेतृत्व गरेको प्रतिनिधि मण्डलबीचको छलफलमा नेपाल र भारतको साझा हित, समस्या र अवसरको विषयले प्राथमिकता पाएको प्रधानमन्त्री मोदीले बताए । 
द्विपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले पञ्चेश्वर परियोजनालाई तीव्र गतिमा अघि बढाइने बताए । मोदीले भने, ‘ऊर्जा क्षेत्रमा अवसरको लाभ लिनुपर्छ भन्नेमा हामी सहमत भएका छौं । पञ्चेश्वर तीव्र गतिमा अगाडि बढाउने विषयमा हाम्रो जोड रहेको छ । विकासका लागि पञ्चेश्वर गेम चेन्जर परियोजना हुनेछ ।’
अहिले प्रधानमन्त्री देउवाको भारत भ्रमणको क्रममा मात्रै होइन, हरेकजसो नेपालका प्रधानमन्त्रीले भारत भ्रमण गर्दा पञ्चेश्वर परियोजनाको विषय उठ्ने गरेको छ । तर, आयोजना कार्यान्वयनले भने कहिल्यै गति लिन सकेको छैन ।
नेपाली प्रधानमन्त्रीले मात्रै होइन, भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदा पनि पञ्चेश्वर आयोजनाका बारेमा चर्चा गरेर फर्किएका थिए ।
००००
यसैबीच भारतले भने प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणबाट द्विपक्षीय सम्बन्धमा नयाँ आयाम थपिएको दाबी गरेको छ । नेपालसँगको आफ्नो सम्बन्ध ‘छिमेकी पहिलो’ नीतिको मुख्य स्तम्भ भएको स्पष्ट गर्दै उसले प्रधानमन्त्री देउवाको भारत भ्रमणले दुई देशबीचको परम्परागत र शताब्दीऔँ पुरानो मैत्री एवं सहकार्यलाई थप प्रगाढ बनाउन योगदान पुगेको बताएको हो । 
प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज हैदरावाद हाउसमा भएको विस्तृत वार्ताले पारस्परिक सम्बन्धलाई नयाँ उचाईमा पु¥याउन योगदान गर्नाका साथै भविष्यको बाटोसमेत निर्धारण गरेको जनाएको छ ।
००००
यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

शनिवारमा भएको भेटवार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा देउवाले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।
००००
यसैगरी प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले भर्चुअल माध्यममार्फत सोलु करिडोर प्रसारण लाइन आयोजना उद्घाटन गरेका छन् ।
दुई प्रधानमन्त्रीले जनकपुर जयनगर रेल पनि दिल्लीबाटै भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन् । यससँगै जनकपुर जयनगर रेल अब नियमित सञ्चालन हुने भएको छ । 
००००
देउवाले शनिबार नै भारतको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर गान्धीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । 
देउवाले समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरेपछि त्यहाँ राखिएको पुस्तिकामा हस्ताक्षर गरि गान्धीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
००००
पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ३६० नमूना परीक्षणमध्ये ११ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । मन्त्रालयका अनुसार थप ९० जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर ९४२ सक्रिय संक्रमित छन् ।
००००
राप्रपा नेपाल प्रदेश १ को अध्यक्षमा वासुदेव भट्टराई र लुम्बिनी अध्यक्षमा गणेश पौडेल मनोनीत भएका छन् । केन्द्रीय अध्यक्ष कमल थापाले शनिवार पार्टीको विधानबमोजिम दुवैलाई मनोनीत गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
००००
प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले सरकारको प्रमुख दायित्व भनेको शान्ति सुरक्षा र सुशासन कायम गर्नु भएको बताएका छन् । दलहरूले शान्तिपूर्वक रूपमा गर्ने सभा सम्मेलनमा अवरोध पु¥याउने कोही कसैलाई सरकारले नछाड्ने उनले चेतावनी दिए । 

नेपाली कांग्रेस धनकुटाले शनिबार आयोजना गरेको आमसभामा मन्त्री खाँणले स्थानीय निर्वाचनमा सरकारमा सहभागी दलहरूबीच गठबन्धन हुने भन्दै त्यसै अनुरुपको तयारीको साथ अगाडि बढ्न सबै गठबन्धन दललाई आग्रहसमेत गरे ।
००००
प्रदेश १ का गठबन्धन दलहरूले वडा तहसम्मै चुनावी तालमेल गर्ने भएका छन् । शनिवार इटहरीमा बसेको गठबन्धनको बैठकले प्रदेश १ का १३७ वटै पालिकामा चुनावी गठबन्धन गर्ने सहमति गरेका हुन् । 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको प्रदेशस्तरका नेताहरू बसेर आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा वडा तहसम्मै गठबन्धन गर्ने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटी अध्यक्ष बलदेव चौधरीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्