
झापाको शिवसताक्षी नगरपालिकाको नगर गौरवको योजनाअनुरुपको चक्रपथ निर्माण सकिएको छ । चक्रपथ निर्माण भएसँगै स्थानीयवासीसमेत खुसी भएका छन् ।
शिवसताक्षी नगरपालिका–३ का ७९ वर्षीय नन्दबहादुर भुजेलले आफ्नै आँगनको डिलसम्म कालोपत्र सडक निर्माण भएकामा खुसी व्यक्त गरे ।
नगरमा जनप्रतिनिधि निर्वाचित भएर आएसँगै पञ्चवर्षीय योजनाअनुरुप चक्रपथ निर्माण सुरु भएको थियो । सो रोड निर्माणका लागि हालसम्म रु २० करोडको लगानी भइसकेको नगरपालिका प्रमुख चन्द्रकुमार शेर्माले जानकारी दिए ।
नगरका सबै वडासम्म कालोपत्र पुर्याउने उद्देश्यले बनाइएको रिङरोडका लागि सबै सडकमा ग्राभेल र कल्भर्ट निर्माण गर्ने काम सकिएको उनको भनाइ छ । उनले ३९ किलोमिटर रिङरोडमध्ये हालसम्ममा १० किलोमिटर बढी कालोपत्र भइसकेको बताए । रिङरोडभित्रै करिब नौ किलोमिटर क्षेत्र पूर्वपश्चिम राजमार्गको परेको छ । बाँकी कालोपत्र गर्ने काम धमाधम भइरहेको छ ।
नगरप्रमुख शेर्माले ३९ किलोमिटरको रिङरोड निर्माणका लागि रु सात करोड केन्द्रीय सरकार, रु एक करोड ३० लाख प्रदेश नं १ सरकारको लगानी र बाँकी रु ११ करोड ७० लाख नगरको रहेको बताए । चक्रपथभित्रमात्रै ५३ साना–ठूला कल्भर्ट निर्माण गरिएको उनले जानकारी दिए । सबै वडालाई सडक सञ्जालमा जोडेर नागरिकलाई सहज आवतजावत गर्न चक्रपथ प्रभावकारी हुने नगर उपप्रमुख भोजकुमारी नेपालले बताइन् ।
चक्रपथ निर्माणसँगै पर्यटकीय गन्तव्यका रूपमा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल सताक्षीधाम, दोमुखा र चिल्लागढ पोखरीसम्म आउने आन्तरिक तथा बाह्य पर्यटकका लागिसमेत सहज भएको छ ।