पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध विपक्षी दलहरूले अविश्वास प्रस्ताव दर्ता भएदेखि खानले भारतको परराष्ट्रनीतिलाई लगातार प्रशंसा गर्दै आएका छन् ।
आफूलाई अमेरिकाले षड्यन्त्र गरेर सत्ताबाट हटाउन खोजेको आरोप लगाउँदै इमरानले भारतको भने प्रशंसा गरेका हुन् ।
पाकिस्तानको राजनीति सञ्चालन गर्ने सेनाले इमरानको साथ छोडेपछि उनले रणनीतिक सोचका साथ भारतको प्रशंसा गरिरहेको विश्लेषकहरूको भनाइ छ ।
खानले आफ्नो तीन वर्षे शासनकालमा भारतको निन्दा गरेका थिए तर अहिले प्रशंसा गरिरहेका छन् । उनले भने, ‘म हिन्दुस्तानको प्रशंसा गर्छु । उनीहरूको परराष्ट्रनीति स्वतन्त्र र जनहितकारी छ ।’
केही समयअघि जारी गरेको राष्ट्रिय सुरक्षानीतिमा पनि पाकिस्तानले भारतसँग भूआर्थिक सम्बन्ध कायम गर्ने उल्लेख थियो । अविश्वास प्रस्ताव स्थगित भए पनि सकेसम्म चाँडो आमनिर्वाचन गराउने इमरान खानको दाउ छ । त्यसपछि पुनः शक्ति आर्जन गरेर भारतसँग सम्बन्ध सुधार्ने उनको योजना देखिन्छ ।
अनि सेनाले आफूलाई साथ छोडेकाले पनि उनले आहत भएर भारतको प्रशंसा गरेको देखिन्छ । भारतीय राजनीतिमा सेनाले हस्तक्षेप नगर्ने गरेको स्मरण गराउँदै उनले पाकिस्तानी सेनालाई पनि सन्देश दिन खोजेका हुन् ।
आफूविरुद्ध अमेरिकाले षड्यन्त्र गरेको भन्दै इमरान खानले देशमा रहेका मुस्लिम कट्टरवादीहरूको सहानुभूति जित्न खोजेको देखिन्छ । अफगानिस्तान युद्धमा अमेरिकाले पाकिस्तानी भूमिमा समेत ड्रोन आक्रमण गरेर उग्रवादीहरूलाई मारेको थियो । उग्रवादी पाकिस्तानीहरू अमेरिकालाई घृणाको नजरले हेर्छन् ।