
कैलालीको धनगढीस्थित गेटा विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउनका लागि गृहकार्य शुरू भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आइतवार मन्त्रालयमा बसेको बैठकले अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक सल्लाह तथा सुझाव संकलनका लागि समिति गठन गरेको छ ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा टोकराज पाण्डेको संयोजगत्वमा गठित ५ सदस्यीय समितिमा मन्त्रालयका उपसचिव टेकनारायण पौडेल सदस्य सचिव तथा पर्यटन बोर्डका निर्देशक हिक्मतसिंह ऐर, नागरिक उड्डयन प्राधिकरणका इन्जिनीयर निलविक्रम थापा र विशेषज्ञका तर्फबाट सुरेन्द्र बोहरा सदस्य रहेका मन्त्रालयले जनाएको छ । समितिले गेटा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन स्थलगत अध्ययन गर्ने तथा सो क्षेत्रका स्थानीयवासी, नागरिक समाज लगायतसँग छलफल र परामर्श गरी प्रतिवेदन बुझाउने निर्णय भएको संयोजक पाण्डेले जानकारी दिए ।
अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सामाजिक, आर्थिक तथा प्राविधिक विषयमा विभिन्न निकाय, समाजसेवी तथा स्थानीयसँग छलफल गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्नेछ । विमानस्थललाई क्षेत्रीयस्तरको बनाउन १ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।