श्रीलंकामा इतिहासकै सबभन्दा ठूलो आर्थिक संकट आइलागेपछि सर्वदलीय सरकार बनाउन खोजिएको छ ।
राष्ट्रपति गोटाबाया राजपक्षेले सबै दललाई सरकारमा आउन आमन्त्रण गरेका छन् ।
हिंसा भड्किएपछि श्रीलंकामा आइतवार राति सबै मन्त्रीहरूले सामूहिक राजीनामा दिएका थिए । प्रधानमन्त्री महिन्दा राजपक्षे र राष्ट्रपति गोटाबाया राजपक्षे मात्र पदमा छन् ।
गोटाबाया राजपक्षेले वर्तमान संकट विश्वमा भएको घटनाक्रमका कारण आएको बताए । आगामी पुस्ता र राष्ट्रहितका लागि सबैले मिलेर कदम चाल्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । सबै दलका प्रतिनिधिहरूलाई उनले मन्त्री बन्न आह्वान गरेका छन् ।
यसैबीच सोमवार नयाँ मन्त्रीहरूले सोमवार शपथ लिएका छन् । अर्थमन्त्री र परराष्ट्रमन्त्री पनि नयाँ ल्याइएको छ । अली साबरीलाई अर्थ मन्त्रालय र जीएल पेइरिसलाई परराष्ट्रमन्त्री बनाइएको हो ।
दिनेश गुणवर्धनेलाई शिक्षामन्त्री र जोनसन फर्नान्डोलाई राजमार्ग मन्त्रालयको जिम्मेवारी दिइएको छ ।